Prakash Adhikari October 25, 2020

 

काठमाडौं, ९ कार्तिक । वडादशैंको नवौं दिन आज सिद्धिदात्रीको पुजा गरि महानवमी मनाइदै छ ।

नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ।

नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ।

सिद्धि प्रदान गर्ने देवीको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।
नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबलि दिने परम्परा छ। शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन्।

महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ। नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ।

महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ। समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ।

विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ। नवरात्रका समयमा देवीको उपासना गर्ने अनेक विधि छन्, घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत, देवीपुराण र दुर्गा सप्तशतीलगायत ग्रन्थ पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गर्ने। वर्षमा चार पटक नवरात्र पर्ने पुराणमा उल्लेख छ।

Share Now

Leave a comment.