ची
किमाड.थाका(संखुवासभा), २६ कार्तिक । आफ्नै पार्टीमित्रका कार्यकारी अध्यक्ष र वरिष्ठ नेताहरुले बारम्बार राजिनामा मागेर थकित हुुनुभएका प्रधानमन्त्री ओलीले विकट जिल्ला संखुवासभाको चीनसंगको सीमा नाका किमांथाका पुगेर विरोधीहरलाई मुखभरिको जवाफ दिनुभएको छ ।
भारतको जोगवनीदेखि किमांथाकास्थित चिनिया सीमा जोडने प्रदेश न. १ को सबैभन्दा छोटो ब्यापारिक मार्ग कोशी करिडरको उत्तरी खण्ड र अरुण तेस्रो जलविद्युत आयोेजनाको बाँधस्थलको निरीक्षण गर्ने क्रममा किमांथाका पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित सभालाई संबोधन गर्ने क्रममा पार्टीभित्रका विरोधीलाई जवाफ दिनुभएको हो ।
उहाँले आफू रहरले प्रधानमन्त्री नबनेको र जनताले बनाएको अनौठो दावी पनि गर्नुभयो । उहाँले आफ्नो सत्ता जनचाहना चलेको जिकिर गर्दै आफ्नो राजीनामा माग्ने कार्य जनचाहना विपरीत रहेको उल्लेख गर्नुभयो
‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोही कसैले राजीनामा माग्नु व्यर्थ हो’, प्रम ओलीले भन्नुभयो। प्रधानमन्त्री ओलीले सरकार परिर्वतन पनि नहुने दावी गर्नुभयो । ‘जनताको विश्वासले आएको हो’, उहाँले थप्नुभयो, ‘अहिले सरकार परिर्वतन हुँदैन, हल्लाको पछि नलाग्नू।’ पार्टी फुटको हल्ला चलाइए पनि त्यस्ता कुराको विश्वास नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
अरुणको कामबाट सन्तुष्ट
प्रधानमन्त्री ओली त्यसपछि ओलीले अरुण तेश्रो जलविद्युत् आयोजनाको बाँधस्थल निरीक्षण गर्ने क्रममा फाक्सिन्दामा पुग्नुभएको थियो । उहाँले आयोजनाको निर्माण प्रगतिबाट आफू सन्तुष्ट रहेको पनि बताउनुभयो।
उहाँले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवामा पनि पुग्नुभएका थियो । उहाँलाई आयोजनाको विकासक भारतीय कम्पनी सतजल जलविद्युत निगमका अरुण आयोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो।
अरुण तेश्रो निर्माणको अनुगमन लगानी बोर्डमार्फत भइरहेको बताउदै उहाँले बोर्डको अध्यक्ष समेत रहेकोले नेपाल र भारतको जलविद्युत विकास तथा व्यापार सहयोगको नमूनाको रुपमा रहेको अरुण तेस्रोको निर्माणको गति हेर्न यस पटक आफै स्थलगत अनुगमनमा आएको प्रधानमन्त्री ओलीले बताउोनुभएको थिय।
२०७५ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले संयुक्त रुपमा भिडियो कन्फरेन्सबाट अरुण तेस्रो आयोजनाको भौतिक निर्माणको कार्यको शुभारम्भ गरेको स्मरण गराउनुहुँदै उहाँले हाल भैरहेको कामबाट आफु सन्तुष्ट रहेको बताउनुभयो।
२४ घण्टा काम
आयोजनाले अहिले २ हजार ४ सय कामदारहरु २४ सै घण्टा काममा खटिइरहेको जनाएको छ। अहिलेसम्म ३ सहायक सुरुङ मार्गसहित ड्याम साइडबाट पावर हाउससम्म पुग्ने सुरुङ मार्ग (डाइभर्सन टनेल) निर्माण सम्पन्न भइसकेको छ।
९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ।
१ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलब ९ प्रतिशत निशुल्क विद्युत् प्राप्त हुनेछ। विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपैयाँ आर्थिक लाभ हुनेछ ।
आयोजनाबाट स्थानीय प्रभावितहरुले १ अर्ब ६० करोड रुपैयाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिट विद्युत प्राप्त गर्नेछन्। निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमसहित संखुवासभा आइपुग्नुभएको थियो ।


















