
काठमाडौं, २६ कार्तिक । नेपालमा कोरोना संक्रमितको संख्या अपत्यारिलो ढंगले बढ्दै २ लाखमाथि पुगेको छ ।
बुधबार अपरान्हको २४ घण्टाअगाडिको अवधिमा नेपालभरि २ हजार ५ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कूल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएसंगै यस घातक भाइरसको प्रकोपबाट जीवन गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
मन्त्रालयले कुल सङ्क्रमितमध्ये १ लाख ६२ हजार २ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन्।
बुधवार भएको मृत्यु सङ्ख्या दोस्रो सर्वाधिक दैनिक मृत्यु हो।
यसअघि कार्तिक ५ गते पनि २६ जनाको मृत्यु भएको थियो।
सर्वाधिक मृत्यु भने कार्तिक १९ गते ३० जनाको भएको थियो।
विगत २४ घण्टामा १ हजार ६ सय ६६ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि ३८ हजार ९ सय १२ जना सक्रिय सङ्क्रमित छन्।
गएको २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।