काठमाडौं, २८ मंसिर। आइतबार बिहानका लागि निर्धारित संवैधानिक परिषदको बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक आयोगका पदहरू पूर्तिका लागि आइतबार परिषद्को बैठक आहृवान गर्नुभएको थियो ।
तर सरकारको कामकारबाहीविरुद्ध ७५ जिल्लामा नै प्रर्दशन गर्न अग्रसर नेपाली कांग्रेसका सभापति त्यसको एक दिन पहिले सत्तारुढ दलसंग बैठक गरी सहमतीमा भागवण्डा गर्ने निर्णय गर्दा नकारात्मक संदेश जाने भएपछि कांग्रेस सभापति देउवा बैठकमा सहभागी नहनु भएको हो । सभापति देउवाले शनिबारनै केन्द्रीय सदस्य रमेश लेखकमार्फत् आफू बैठकमा सहभागी नहुने सन्देश पठाउनुभएको थियो।
संवैधानिक आयोगहरूमध्ये राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन्। निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ।
त्यहाँ पनि अध्यक्षसहित चार आयुक्त खाली छ। समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगले पनि अध्यक्ष मात्रै पाएका छन्।


















