काठमाडौं, २८ मंसिर । सत्तारुढ नेकपाको बालुवाटारमा आइतवार सम्पन्न स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै समापन भएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले मात्र बोल्नुभयो र त्यो पनि कमानसिंह लामाबारे मात्र बोलेर बैठक समापन भएको घोषणा गर्नुभयो।
प्रवक्ता श्रेष्ठका अनुसार लामाको निधनप्रति शोक व्यक्त गर्दै बैठक स्थगित भएको थियो।
बैठकमा सहभागी अर्का स्थायी समिति सदस्य डा. भीम रावलका अनुसार बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार अर्को बैठक आगामी पुष १ गते बालुवाटारमै डाकिएको छ। दुई अध्यक्षको राजनीतिक प्रतिवेदनमा एक अर्काको दोष कोट्याउने होडबाजीबीच चुलिएको आन्तरिक झगडाका कारण स्थायी कमिटी बैठकप्रति धेरैको चासो छ।
बैठक अघि सत्ताधारी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी स्थायी कमिटीको आइतवारको बैठकमा सहभागी हुनुका तीनवटा कारण रहेको पूर्व सभामुख तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले बताउनुभएको थियो।
नेम्वाङका अनुसार प्रधानमन्त्रीले यसअघि कहिल्यै बैठकमा सहभागी नहुने कुरा बताउनुभएको थिएन, गलत प्रचार भएको हो।
प्रधानमन्त्रीले अघिल्लो बैठकमा ‘जुन विषय जसरी राखियो राजनीतिक रूपमा त्यो छलफलमा उपस्थित हुन सहमत नभएको र त्यो नगर्न आग्रह गरेको’ नेता नेम्वाङको भनाइ छ।
उहाँका अनुसार स्थिति फेरिएको छ। के हुन ती कारण जसले गर्दा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन ‘राजनीतिक रूपमा उचित’ ठान्नुभयो ?
कारण १ : एजेन्डाको आवरण परिवर्तन
अघिल्लो स्थायी कमिटीले बैठकको ‘आन्तरिक समस्या’ भनेर छलफलको एजेन्डा निर्धारण गरेको उहाँले बताउनुभयो।
यसअघि प्रचण्डले प्रस्तुत गरेको दस्तावेजलाई अभियोग पत्रको सङ्ज्ञा दिँदै त्यसमा छलफल हुन नसक्ने प्रधानमन्त्रीको अडान थियो।
अब सिधै त्यसमा छलफल नभएर पार्टीको ‘आन्तरिक समस्या’ मा छलफल हुनेछ। त्यो भनेको प्रधानमन्त्रीले असहमति जनाएको विषय सिधै एजेन्डामा परेन।

तर के त्यसमा अब छलफल हुँदैन ?
जति दस्तावेजहरू छन् ती सबै ‘सन्दर्भ(सामग्री’ बनेको नेता नेम्वाङको भनाइ छ। स्थायी कमिटीमा पनि सन्दर्भ सामग्री घोषणाको प्रसङ्ग उठेको उहाँले बताउनुभयो।
बैठकमा प्रचण्डले जनाएको प्रतिक्रिया सुनाउँदै उहाँ भन्नुहुन्छ, “शब्द उताउतामा नजाऔँ, हाम्रो एजेन्डा आन्तरिक समस्या हो, यो सन्दर्भमा सबै कुरा आइहाल्छन्, स्थायी कमिटीले नयाँ प्रस्ताव पनि पास गर्न सक्छ भन्नुभएको थियो। अब कसरी छलफल हुन्छ हेरौँ।”
ओलीको विपक्षमा रहेका नेताहरूले सबै दस्तावेजहरूमा छलफल हुने अडानमा छन्।
कारण २ : धुम्वाराहीबाट बालुवाटार
काठमाडौं धुम्वाहारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको अघिल्लो बैठकले फेरि त्यहीँ बस्ने गरी स्थगित भएको थियो।
आइतवार त्यो बैठक धुम्वाराहीमा नबसेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारियो।
यसअघि पनि धुम्वाराहीमा भएको नौ सदस्यीय सचिवालय बैठक वालुवाटारमा सार्ने गरिएको थियो।
त्योभन्दा पाँच गुणा ठूलो आकारको स्थायी कमिटीका सदस्य र उनीहरूका सुरक्षाकर्मी लगायतको उपस्थिति हुने गरि धुम्वाराहीमा बैठक गर्न ठिक नहुने स्वास्थ्यकर्मीहरूको राय रहेको नेता नेम्वाङले बताउनुभयो।
प्रधानमन्त्री ओलीको असहमतिकाबीच पनि प्रचण्डले पार्टी बैठक आयोजना गर्न थाल्नुभएको छ
उहाँका अनुसार ‘त्यो समेतलाई ध्यानमा राखेर’ प्रधानमन्त्रीले ध्यानाकर्षण गराउनुभएको थियो र बैठक वालुवाटार सारियो।
कारण ३ : लामाप्रति श्रद्धाञ्जली
नेकपाका नेता कमानसिंह लामाको निधन स्थायी कमिटी बैठकको नयाँ एजेन्डा बनेको छ। बैठकले उहाँको निधनमा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली प्रकट गरेको छ।
नेम्वाङ् भन्छन्, “त्यो मात्रै एजेन्डा राखौँ भन्ने हाम्रो भनाइ थियो। यी सबै सन्दर्भलाई ध्यानमा राख्दा प्रधानमन्त्री बैठकमा नआउने प्रश्नै रहेन नि।”
यसरी आजको बैठक औपचारिकतामा सीमित बन्न पुग्यो र विवाद समाधानको निम्ति थप परामर्श र तयारीको निम्ति समय थपिन गयो।
समय थपिए पनि विवादको आगो देशभर सल्किसकेको छ । दुवै पक्षले आआफ्ना पक्षका भेलाहरू देशका विभिन्न ठाउँमा गर्न थालेका खबर आइरहेका छन्।
कतिपयले त्यसलाई नेकपा एकताभन्दा विभाजनतर्फ अघि बढेको सङ्केत ठानेका छन्।


















