काठमाडौं, १९ माघ । धितोपत्र बोर्डले बुटवल पावरको एफपिओ नियम संगत रहेको बताएको छ ।
बोर्डका प्रवक्ता निरज गिरीले बिहिबार एक विज्ञप्ति जारी गर्दे बुटवल पावरलाई एफपिओ बिक्री गर्न दिनुका कानुनी र व्यवहारिक पाटोहरुको बारेमा प्रष्ट्याएको छ ।
बोर्डले लगानीकर्तालाई भ्रममा नपर्न आग्रह गर्दे नियम, विधि र प्रक्रिया संगत तरिकाले नै कम्पनीलाई एफपिओ निष्काशन गर्न दिएको उल्लेख गरेको छ ।
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट सम्बन्धी नियमावली तथा निर्दे्शिकामा भएको व्यवस्थाअनुसार बुटवल पावरलाई थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न अनुमति दिइएको बताइएको छ ।
पब्लिक कम्पनीको रुपमा रहेको उक्त कम्पनीले निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको उक्त कम्पनीको शेयरहरुमध्ये चुक्ता पूँजीको ७५ प्रतिशत शेयर निजीकरणको प्रक्रिया मार्फत संस्थागत लगानीकर्तालाई मिति २०५९।१०।१५ मा बिक्री गरी हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।
तत्पश्चात मिति २०६०।०६।०६ मा नेपाल सरकारले थप १२ प्रतिशत शेयर सर्वसाधारण तथा कर्मचारीहरुलाई नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्काशन गरेको देखिएको बोर्डले जनाएको छ ।
बोर्डले निष्काशन अनुमति प्रदान गर्ने तथा अन्य कार्यहरु धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गतका नियम तथा निर्देशिकाको अधिनमा रही गर्दै आइरहेको पनि जनाएको छ ।