Prakash Adhikari February 5, 2021

काठमाडौं, २३ माघ । नेपालले विश्वस्वास्थ्य संगठन, युरेपियन युनियन र फ्रान्सले विपन्न मुलुकहरुको लागि खोप उपलब्ध गराउन स्थापना गरेको बहुपक्षीय कार्यक्रम कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने भएको छ।

उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्।

सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ।

covax को छविको परिणाम

कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार दक्षिण एशियाका अन्य देशहरूले पाउने मात्रा

बाङ्ग्लादेश : एक करोड २७ लाख ९२ हजार मात्रा
भुटान : एक लाख आठ हजार मात्रा
भारत : नौ करोड ७१ लाख ६४ हजार मात्रा
मालदिभ्स : एक लाख आठ हजार मात्रा
पाकिस्तान : एक करोड ७१ लाख ६० हजार मात्रा र
श्रीलङ्का : १६ लाख ९२ हजार मात्रा

कोभ्याक्सको अनुसार यो अनुमानित मात्रा अन्तरिम वितरण तयारी आरम्भ गर्नका लागि मात्रै हो र यो परिवर्तन हुनसक्छ।

कोभ्याक्स के हो ?

सन् २०२० को एप्रिलमा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड १९ टूल्सको एउटा अङ्ग कोभ्याक्स हो।

ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ। यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी कोभ्याक्स एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन्।

नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो।

corona vaccination first dose administered to Teku Doctor को छविको परिणाम

स्पुतनिक भी ल्याउने तयारी
रुसमा विकास भएको स्पुत्निक भी खोप कोभिड १९ विरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको एउटा प्रतिष्ठित वैज्ञानिक जर्नलमा उल्लेख भएसँगै त्यसलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिलाउने विषयमा छलफल अघि बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागका अधिकारीहरूका अनुसार अनुमति प्राप्त गर्ने प्रक्रियाका बारेमा काठमाण्डूस्थित रुसी राजदूतावासले इमेलमार्फत् अनौपचारिक रूपमा बुझ्न खोजेको छ।

यसअघि उक्त खोपको २ करोड ५० लाख मात्रा नेपालमा ल्याउने सम्झौता गरेको एउटा निजी औषधी कम्पनीका निर्देशकले आपत्कालीन प्रयोगको लागि अनुमति दिन आफूहरूले कागजपत्र जुटाउने प्रयास गरिरहेको बताउनुभएको छ।

‍स्वास्थ्य मन्त्रालयले चाहिँ अहिलेसम्म एउटा मात्रै खोपलाई नेपाल भित्र्याउन अनुमति दिइएको र पछि थपलाई अनुमति दिइए पनि निजीभन्दा सरकारी स्तरबाट खोप झिकाउन जोड दिइएको जनाएको छ।

 

खोपको खाँचो र रुसको प्रवेश

नेपालले भारतमा सीरम इन्स्टिट्यूट ले उत्पादन गरिरहेको अक्सफर्डरएस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड खोपलाई मात्रै हालसम्म आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।

दुई साताअघि भारतले १० लाख मात्रा खोप अनुदानमा दिएसँगै नेपालमा पहिलो चरणको खोप कार्यक्रम अघि बढाइएको छ।

सरकारले थप कोभिशील्ड खोप खोप खरिद गर्ने प्रयास भइराखेको बताएको छ। तर त्यसबारे ठोस सम्झौता हुन सकेको छैन।

यसैबीच रुसी खोपको अन्तिम चरणको परीक्षणबारे द लान्सिट जर्नलमा प्रकाशित लेखमा स्पुत्निक भी सुरक्षित रहेको र त्यो कोभिड १९ विरुद्ध झन्डै ९२ प्रतिशत प्रभावकारी रहेको उल्लेख गरिएको छ।

अन्तिम चरणको परीक्षणको तथ्याङ्कबिना नै खोपलाई प्रयोगमा ल्याइएको भन्दै सुरुमा उक्त खोप विवादित बनेको थियो।

तर पछिल्लो पटक वैज्ञानिकहरूले उक्त खोपको लाभ देखा परिरहेको तथा त्यो फाइजर =-बायोएन्टेक, अक्सफर्ड-एस्ट्राजेनेका र मोडेर्नाका खोपजस्तै प्रमाणित भएको दाबी गरेका छन्।

दुईदेखि आठ डिग्री सेल्सीअस तापक्रममा भण्डारण गर्न सकिने उक्त खोप अत्यधिक चिसो किसिमको खोप भण्डारण क्षमता कमजोर रहेका नेपालजस्ता देशलाई उपयोगी हुने ठानिएको छ।

तेस्रो चरणको परीक्षणको निष्कर्ष सार्वजनिक भएका विवरण यसै साता आएपछि स्पुत्निक-भी खोपलाई नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति दिने सम्भावनाबारे छलफल अघि बढेको बुझिन्छ।

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी भन्नुहुन्छ, “औपचारिक रूपमा प्रकिया अघि बढिसकेको छैन। तर रुसी राजदूतावासबाट अनुमति लिने प्रकिया कस्तो हुन्छ, के गर्न सकिन्छ भनेर जिज्ञासा राखिएको छ।”

सम्झौता गर्ने कम्पनीको भनाई

कोभिड खोप

भारतमा उत्पादित कोभिशील्डले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ

गएको अक्टोबर महिनामा स्पुत्निक खोप नेपाल भित्र्याउने भनेर आफूले गरेको सम्झौता ‘विशुद्ध व्यावसायिक’भएको नेपालस्थित एउटा खुद्रा औषधी विक्रेता कम्पनी ट्रिनिटी फार्मास्युटिकल्सले बताएको थियो।

रुस सरकारले सन् २०११ मा बनाएको सार्वभौम सम्पत्ति कोष रसियन डाइरेक्ट इन्भेस्टमन्ट फन्ड (आरडीआईएफ) सँग भएको भनिएको सहमति मस्कोमा सार्वजनिक गरिएपछि बल्ल नेपाली अधिकारीहरूले थाहा पाएका थिए।

त्यस बेला आरडीआईएफका प्रवक्ता र ट्रिनिटी फार्मास्युटिकल्सका निर्देशकले उक्त सहमति कायम गर्न काठमाण्डूस्थित रुसी राजदूतावासको साथ रहेको बताउनुभएको थियो।

ट्रिनिटी फार्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले अहिले पनि आफूहरू आरडीआईएफसँग सम्पर्कमा रहेको र नेपालमा स्पुत्निक भी खोपको प्रयोगको आपत्कालीन अनुमति दिलाउन कोशिस गर्ने बताउनुभयो।

“सुरुमा उताको पक्ष तात्यो तर हामीले केही कदम चाल्न सकेनौँ। अहिले यहाँबाट औषधि व्यवस्था विभागले प्रयोगको लागि स्वीकृति दिने भनेपछि हामी कागजपत्र जुटाउन लागेका छौँ। सबै कागजपत्र सङ्कलन भएपछि हामी प्रक्रिया अघि बढाउँछौँ। त्यसपछि मात्रै खोपको कुरा आउँछ।” अधिकारीले भन्नुभयो ।

रुसबाट खोप भित्र्याउने सहमतिप्रति आफूहरू बेखबर रहेको नेपाली अधिकारीहरूले बताएपछि ट्रिनिटीले त्यस बेलै औपचारिक रूपमा औषधि व्यवस्था विभागलाई जानकारी गराएको थियो।

त्यस बेलाको सम्झौतामा अढाई करोड मात्रा स्पुत्निक भी खोप खरिद गर्ने भनिए पनि अरू खोपहरू आउन थालिसकेकाले अब त्यस्तो नहुने अधिकारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयको भनाई

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम औषधी व्यवस्था विभागले दर्ता गरेपछि मात्रै अरू प्रक्रिया अघि बढ्ने बताउनुहुन्छ।

“अहिलेसम्म कोभिशील्ड खोप मात्रै दर्ता भएको छ र त्यो हामी चलाइरहेका छौँ। चीनसहित केही निवेदन आएको थियो त्यो हामीले औषधि व्यवस्था विभागमा पठाएका छौँ। जब खोप दर्ता हुन्छ तब मात्रै अरू प्रक्रिया अघि बढ्छ।” डा.गौतमले भन्नुभयो ।

प्रवक्ता गौतमका भनाइमा निजी क्षेत्रले भविष्यमा खोप ल्याउन सक्ने भए पनि त्यसमा सरकारकै ूअग्राधिकारू हुनेछ।

“समाजमा भएका दूरदराजमा बस्ने काम आय भएका मानिसहरूले खोप नपाउने सहरमा बस्ने पैसावालहरूले मात्रै पाउने त्यस्तो हुन दिँदैनौँ। त्यही भएर मेचीदेखि महाकालीसम्मका सबै नागरिकलाई समान व्यवहार गर्दै नेपाल सरकारले खोप लगाउँछ।”, प्रवक्ता डा. गौतमले भन्नुभयो,“निजी क्षेत्रलाई हामीले खोप ल्याउन निषेध गरेका छैनौँ। सरकारले बढी खोप ल्याउँछ। केही निजीले ल्याएछन् भने पनि उहाँहरूले निश्चित नाफा राख्नुहोला तर सरकारलाई नै दिनुपर्छ।”

ट्रिनिटी फार्मास्युटिकल्सका निर्देशक अधिकारी अहिले निजी क्षेत्रले कोभिड १९ खोप भित्र्याउन पाउने या नपाउनेबारे अन्योल रहे पनि भविष्यमा त्यसलाई खुकुलो बनाउने अपेक्षा आफूले गरेको बताए।

कोभिड खोप

कोभिड खोप :आपत्कालीन प्रयोगको अनुमति मागेका खोपहरु

नेपाली अधिकारीहरूका अनुसार चीनको सिनोफार्म र भारत बायोटेकको कोभ्याक्सीन खोपका लागि आपत्कालीन प्रयोगको अनुमति दिन माग गर्दै औषधि व्यवस्था विभागमा पत्राचार गरिएको छ।

त्यसमा विभागले दुवै कम्पनीलाई तेस्रो चरणको प्रतिवेदनसहितका कागजपत्र पेस गर्न भनेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो।

हालैमात्र काठमाडौं अवस्थित चिनियाँ राजदूतावासले नेपाललाई सिनोफार्मको ३ लाख मात्रा कोरोभ्याक खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

तर त्यसरी खोप अनुदान वा उपहारमा स्वीकार गर्न पनि नेपालको नियमनकारी निकायबाट आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त हुनुपर्ने विज्ञहरू बताउँछन्।(बीबीसीबाट)

Share Now

Leave a comment.