Prakash Adhikari March 2, 2021

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसले व्यापक टीकाटिप्पणी निम्त्याएको छ।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि पक्ष-विपक्षमा सामाजिक सञ्जालहरूमा पनि फरक-फरक धारणा व्यक्त भइरहेका छन्।

पोखरामा सोमवार एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कैयौँ कारणले आफूमाथि प्रहार केन्द्रित रहेको दाबी गर्नुभएको थियो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेको र नेकपाको प्रचण्ड(माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको पृष्ठभूमिमा ‌ओलीको पछिल्लो अभिव्यक्ति आएको हो।

प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री ओलीले सोमवार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो।

त्यस क्रममा उहाँले आफूमाथि प्रहार केन्द्रित हुनुको एउटा कारण मात्रै नरहेको उल्लेख गर्नुभयो।

प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशपछि यस्तो छ सुरक्षा तयारी

उहाँले भन्नुभएको थियो, ‘नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइराखेको हुनाले, सरकार ठिक ढङ्गले सञ्चालन गरिरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढङ्गले अगाडि बढिरहेको हुनाले, विकास निर्माणका कामले गति लिइरहेका हुनाले ममाथि प्रहार केन्द्रित छ।’

आफूमाथि प्रहार ‘अत्यन्तै तीव्र गति’ले केन्द्रित रहेको पनि प्रधानमन्त्रीले दाबी गर्नुभयो।

‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तल(माथि भइहाल्यो भने पनि तपाईँहरूले अनौठो नमान्नुहोला। तर यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ।’

आफू नरहे पनि केही नहुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि थप्नुभयो, ‘आन्दोलन छ, पार्टी छ। यस आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारसामु घुँडा टेक्नु हुँदैन।’

‘देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन। देश बनाउने पार्टीको भविष्यलाई अन्धकारमा जान दिनु हुँदैन। यस पार्टीलाई तल(माथि हुन दिनु हुँदैन।’

प्रधान

प्रधानमन्त्री ओली

सुरक्षाविद्‌ के भन्छन् 

सुरक्षा मामिलाका जानकारहरूले प्रधानमन्त्रीको अभिव्यक्ति ूअस्वाभाविकू भएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय नेकपाका दुई समूहका नेताले एकअर्कामाथि राजनीतिक प्रहार गरिरहेको अवस्था भए पनि भौतिक प्रहारको स्थिति नरहेको सुरक्षाविद्‌ गेजा शर्मा वाग्लेको ठम्याइ छ।

‘उहाँको अभिव्यक्ति हास्यास्पद र गैरजिम्मेवार छ। किनभने प्रधानमन्त्रीलाई जे जति सुरक्षा छ त्यो मेरो विचारमा जस्तोसुकै सुरक्षा चुनौतीलाई सामना गर्न सक्षम छ’, वाग्लेले भन्नुभयो।

‘यदि प्रधानमन्त्रीलाई साँच्चिकै सुरक्षा चुनौती छ भने उहाँले आफ्नै सुरक्षा प्रणालीलाई अविश्वास गरेको देखिन्छ।’

अहिले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओली आफैँले सम्हाल्नुभएको छ भने गृहमन्त्रीको पदमा उहाँकै समूहका नेता रामबहादुर थापा हुनुहुन्छ।

पूर्वगृहसचिव श्रीकान्त रेग्मी पनि प्रधानमन्त्री ओलीमाथि भौतिक प्रहार हुने सम्भावना आफूले नदेखेको बताउनुहुन्छ।

भीभीआईपीको सुरक्षा पाउने प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिले सुरक्षा निकायको मनोबलमा नकारात्मक प्रभाव पार्ने सम्भावना उत्तिकै रहेको उहाँ औँल्याउनुहुन्छ।

‘त्रुटिरहित ढङ्गले प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीको यस्तो भन्दाखेरि सुरक्षा दिनेहरूको मनोबलमा प्रतिकूल असर पर्न सक्छ’, रेग्मीले थप्नुभयो।

राजनीतिक उद्देश्य के ?
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक फाइदा लिने उद्देश्यले पनि आएको हुन सक्ने एकथरीको विश्लेषण छ।

राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइमा सहानुभूति बटुल्न र नेकपाको प्रचण्ड( नेपाल समूहका नेता, कार्यकर्तालाई आफूतिर तान्ने उद्देश्यका साथ प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ।

‘यो एक प्रकारको राजनीतिक स्टन्ट र जनताबाट सहानुभूमित बटुल्ने उपाय मात्र हो’, पोखरेलले भन्न्ुभयो।

‘भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै हाम्रो सन्दर्भमा हाम्रा प्रधानमन्त्रीले नयाँ(नयाँ बहसका कुरा राजनीतिकवृत्तमा छाडिदिनुहुन्छ र अगाडि बढ्नुहुन्छ।’

आफूले वाचा गरेअनुरूप विकास र सुशासनको दिशामा खासै प्रगति नदेखिएको पृष्ठभूमिमा आमनागरिकको ध्यान अन्यत्र मोड्ने हिसाबले पनि प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने एकथरीको बुझाइ छ।

त्यसबारे पोखरेल भन्नुहुन्छ, ‘म आफैँमाथि खतरा छ म मरे पनि मेरा मुद्दालाई अगाडि बढाउनुहोला भन्ने ढङ्गले बहसलाई अन्तै मोड्ने पनि हुन सक्छ। तर यी कुराबाट मानिसहरू भ्रमित हुने अवस्था अब छैन।’

सामाजिक सञ्जालमा चर्चा

ट्विटरमा बुद्धि कार्कीले सामान्य अवस्थामा सरकार प्रमुखले आफू असुरक्षित रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य व्यक्त गर्नुभएको छ।

उहाँ लेख्नुहुन्छ, ‘अन्यत्रका सरकार प्रमुखहरू मुलुक कठिनभन्दा कठिन परिस्थितिमा हुँदा, ठूल्ठूला आतङ्कवादी हमला हुँदा जनतालाई सुरक्षाको भरोसा दिलाउँछन्।’

गीता चिमोरियाले प्रधानमन्त्रीलाई पूर्ण सुरक्षा दिनका लागि ट्वीटमार्फत् प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएउनुभएको छ।

(बीबीसीबाट)

Share Now

Leave a comment.