मूलपानी(काठमाडौं), २३ फागुन । पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तान पुगेका तर कोरोनाको कारण म्याच स्थगित भएपछि स्वदेश फर्केका नेपाली क्रिकेट स्टार सन्दीपले राजधानीमा जारी काठमाडौं मेयर्स कपमा बेजोड प्रदर्शन गरेका छन् ।
आफ्नो कप्तानी रहेको काठमाडौं मेयर्सबाट खेलेका सन्दीपले वाग्मती प्रदेश विरुद्धको खेलमा ब्याटिड. पनि विष्फोटक गरेर र विकेट पनि लिए । उनको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर्सले बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको काठमाडौं मेयर्सले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४४ रन जोड्यो।
उसका लागि कप्तानको जिम्मेवारीमा रहेका सन्दीपले ४२ रनको योगदान दिए। उनले २० बलमा ६ छक्का हिर्काए।
यस्तै सन्दीप रजालीले ३३ रन बनाए भने सिद्धान्त लोहनीले ३४ रनको योगदान गरे। सौरभ खनालले नटआउट ४९ रन जोडे भने बिपिन खत्रीले ३२ रनको योगदान दिए।
त्यसअघि खराब सुरुवात गरेको काठमाडौंले १३ ओभर चल्दा ४ विकेट गुमाएको थियो भने केवल ३७ रन जोडेको थियो।
बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिए। रामनरेश गिरी र आरियो पौडेलले २ । २ विकेट लिएका थिए।
वाग्मतीको व्याटिड.
२ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४.३ ओभरमा १ सय ५० रनमा अलआउट भयो। बागमतीका लागि पृथु बास्कोटाले ६० रनको योगदान दिए। त्यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १७ रन, अदिल खान १५ रन, पारस खड्का १० रन र इशान पाण्डे १७ रनमा आउट भए।
बलिङमा काठमाडौं मेयर्सका सन्दीपले ३ विकेट लिँदा बिपिन खत्री र अनिल खरेलले २ । २ विकेट हात लिएका थिए।
बलिड.मा ३ विकेट लिएका र ब्याटिड.मा ४२ रनको योगदान दिएका सन्दीप प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
२०२० को सीपीएलमा राम्रो प्रदर्शन गरेका सन्दीपले यसपटकको आईपीएलमा मैदानमा उत्रेर बल छुन पाएनन् । आइपीएल खेल्न नपाएको झोंक अष्ट्रेलियाको बीबीएलमा राम्रो प्रदर्शन गरेर देखाउने उनको चाहानामा पनि सो खेल सुरुहुनुपूर्व र नेपालमा देखिएको कोरोना र अष्ट्रेलियामा अनिवार्य क्वारेन्टाइनले असर गर्यो । पहिलेको जस्तो दमदार प्रस्तुति हुन पाएन ।
आफ्नो प्रदर्शन आगामी आईपीएलमा देखाउने उनको धोको पनि उनलाई आईपीएलको अक्सनमा कुनै टिमले नलिएपछि अधुरै रहेको थियो । त्यो धोको मेट्न जारी पीएसएलमा अफगानका खेलाडी रासिद खाँनको सट्टामा खेल्न पाकिस्तान पुगेको सन्दीप क्वारेन्टाइन बसाई सकेर मैदान निस्कने समयमा नै अरु खेलाडीलाई कोरोना देखियो भनेर बाँकी खेलहरु स्थगन गरिए ।
अन्ततः आफ्नो क्षमता आफ्नै देशमा देखाउने सौभाग्य पाएका सन्दीपले काठमाडौं मयर्स कपको पहिलो खेलमा विष्फोटक ब्याटिड पनि गरे । सन्दीप अन्तराष्ट्रिय लिगमा छनोट भएपनि उनको ब्याटिड. कमजोर देखिएको थियो । उनले घरेलु मैदानमा त्यसको सुधार प्रमाणित गरे । यसले आउदा दिनमा उनलाई विदेशी लिगमा आबद्ध हुन झन सजिलो भएको छ ।


















