काठमाडौं, २५ फागुन । नेपाल र बङ्गलादेश सरकारको सम्झौतानुसार पहिलो चरणको रासायनिक मल वीरगञ्ज आइपुगेको छ। पहिलो चरणमा २ हजार ५ सय ४० मेट्रिक टन मल आएको कृषि सामाग्री कम्पनीका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभएको छ।
‘आज १ बजे तिर भन्सार आइपुग्यो, भन्सार पास हुँदैछ,’ भण्डारीले भन्नुभयो।
उक्त परिमाणको मल वीरगञ्ज गोदाममा लगिने छ। त्यहाँबाट प्रदेश १, २, ३ र ४ प्रदेशमा पठाइने छ ।
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्न लागेको छ। बंगलादेशबाट युरिया मल ल्याउन कृषि सामग्री कम्पनी र बंगलादेशको ’बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो।
बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभएको छ।
उहाँकाअनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो।
जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो।
तयारीस्वरुप गत पौष २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो।
सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुगेको हो।
बङ्गलादेशबाट रासायनिक मल ढुवानीका गर्न असोजमा संयुक्त अरब इमिरेट्स (युएई)को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइएको छ।
कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ।
सुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरिद गरेको मलको बिक्रीवितरण सुरु हुने बताइएको छ।


















