Prakash Adhikari March 14, 2021

काठमाडौं, २९ फागुन । ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको पदाधिकारीहरु हटाउने, जिम्मेवारी हेरफेर गर्ने र अरुदलका आगन्तुकलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने कार्य पार्टीको विधान विपरित भएको बताउनुभएको छ ।

शनिबार अभियानको आकस्मिक बैठक राख्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्वेच्छाचारी ढंगले काम गरी कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई पनि समाप्त गर्न खोजेकोले यसको विरुद्ध देशव्यापी विरोध अभियान चलाउनु पर्ने धारणा सार्वजनिक गर्नुभएको थियो।

एकता अभियानको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७७ फागुन २८ गते नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले आफूसम्बद्ध समूहको भेली गरी तथाकथित केन्द्रीय कमिटीको नाम दिंदै महाधिवेशनबाट निर्वाचित पद र पदाधिकारीहरुको जिम्मेवारी खोस्ने र जथाभावी ढंगले केन्द्रीय कमिटीका सदस्य संख्या थप्ने जस्ता विधान विपरित कार्य गरेकोले पार्टी एकता राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।’

gautambi11

केपी ओलीले शुक्रबार गरेको घोषणाले उहाँको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उहाँमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवादजस्ता प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको आरोप पनि गौतमको संयोजकत्वमा रहेका एकता अभियानले लगाएको छ ।

एकता अभियानका सचिव बाबुराम थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं।’

 

 

Share Now

Leave a comment.