Prakash Adhikari March 14, 2021

 

काठमाडौं, १ चैत्र । नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नामाकरण सगरमाथा राख्ने इतिहास शिरोमणि बाबुराम आचार्यको सम्मानमा १० लाख रुपैयाको पुरस्कार स्थापना हुने भएको छ । सो पुरस्कार तीन विधामा दिइने भएको छ ।

आचार्यको १३४औँ जन्म जयन्तीका अवसरमा  नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभाग र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले फागुन २९ गते संयुक्त रुपमा आयोजना गरेको  ‘बाबुराम आचार्य र उहाँको योगदान विषयक विचार गोष्ठी’ कार्यक्रममा यसको जानकारी दिइएको हो ।

प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले दिनुभएको जानकारी अनुसार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कारका लागि रु १० लाख बजेट विनियोजन गरेको छ र तीन विधामा दिइने उक्त पुरस्कार यसैवर्षदेखि प्रदान गर्नका लागि आवश्यक कार्यविधि बनाइदै छ ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्यटन मन्त्रालयले आचार्यको युगान्तकारी स्मरणका लागि विशेष पुरस्कार स्थापना गर्ने जानकारी दिनुभएको थियो ।

उहाँले इतिहासशिरोमणि आचार्यको योगदानको कदर स्वरुप उहाँको स्मरणलाई जीवन्त तुल्याउन पुरस्कार स्थापनाका साथै अन्य किसिमका कार्यक्रम पनि अघि बढाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

सचिव  कोइरालाले इतिहास शिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चिरस्मरणीय राख्न पुरस्कारलगायत विविधि विषयबाट सम्बोधन हुनेगरी मन्त्रालयले नीतिगत कार्यक्रम ल्याउने बताउनुभयो ।

सगरमाथाको नामाकरण गर्ने आचार्यको जीवन, संघर्षपूर्ण हुँदाहुँदै उहाँले दिएको ज्ञान सदा चिरस्मरणीय रहने बताउदै सचिव कोइरालाले भन्नुभयो, ‘उहाँलाई राज्यले दिएको इतिहास शिरोमणिको पद महत्वपूर्ण विधाको पद हो, यसलाई सदास्मरणीय बनाउन अन्य कार्य पनि गर्न जरुरी हुन्छ ।’

उहाँले इतिहासविद् आचार्यजस्ता विभूतिलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने भन्ने नीति आवश्यक रहेको र मन्त्रालय त्यसदिशातर्फ अघि बढेको जानकारी दिँदै भूगोल र इतिहासलाई जोडेर प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइने बचन दिनुभयो ।

पर्यटन सचिव कोइरालाले साहित्य र इतिहासको योगदानलाई संरक्षणका लागि राज्यले विशेष ध्यान दिने पनि बताउनुभयो ।

कार्यक्रममा ‘इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणी आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले आचार्यका हरेक कृतिले ज्ञानका पारखीलाई दिशाबोध गर्नुका साथै अध्ययनमा प्रोत्साहन गर्ने बताउनुभयो ।

प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले नेपालको इतिहासलाई प्रमाणिक बनाउन भूमिका खेल्नुभएका आचार्यले नेपाली साहित्यको समालोचनालाई माथि पु¥याउन पनि योगदान गर्नुभएको बताउनुभयो । पूर्वराजदूत एवं प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले नेपालका पर्यटकीय गन्तब्यमा इतिहास शिरोमणि आचार्यलगायत स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी गन्तब्य प्रवद्र्धन गरिनुपर्ने तथा आचार्यका बारेमा थप खोज तथा अनुसन्धान गरी युवापुस्तामा ज्ञान हस्तान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।

आर्थिक दूरावस्था र कठिनतम जीवनदशाका बीचबाट पनि बाबुरामको जीवन संघर्ष उत्कर्षतर्फ लम्कियो । विसं २००८ मा आचार्यलाई तत्कालीन राज त्रिभुवनबाट इतिहास शिरोमणि को पदवी प्रदान गरिएको थियो । विसं २०२० मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कार र २०२८ मा राजा महेन्द्रबाट ‘गोर्खा दक्षिण बाहु’ तेस्रो प्रदान गरिएको थियो । आचार्यको सम्मान स्वरुप हुलाक टिकट निकालिनुका साथै सडक मार्ग नामाकरण आदि काम भएका छन् ।

विसं १९६३ मा बनारशबाट प्रकाशित सुन्दरी पत्रिकामा प्रकाशित मालिनी विला शीर्षकको कविता नै बाबुरामको प्रथम रचना थियो । उहाँले १९ वर्षको उमेरमा लेख्नुभएको थियो । आचार्यको ८५ वर्षको उमेरमा पहिलो साहित्य कृति ‘तुलनात्मक सुन्दरकाण्ड’ प्रकाशित भयो । आचार्यका ‘भानुभक्त झ्यालखानामा र सगरमाथा वा झामो–लोङमा’ जस्ता थुप्रै साहित्य र इतिहासलगायतका विविध विषयक लेख–रचना प्रकाशित भएका छन् । उहाँको ६३ वर्षको उमेरमा दुवै आँखा पूर्णतः निस्काम भई दृष्टवीहीन हुनुभयो । काठमाडौँको सिनामङ्गलमा विसं १९४४ फागुन २९ मा जन्मनुभएका आचार्यको विसं २०२९ गते भदौ २१ गते ८५ वर्षको उमेरमा निधन भएको थियो

Share Now

Leave a comment.