काठमाडौं, २६ माघ । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा विजयी भएको नेकपा एमालेका प्रदेश १ र ३ को संसदीय दलको नेता चयन गर्न आज निर्वाचनको प्रक्रिया आरम्भ भएको छ ।
हाम्रा विराटनगरस्थित संवाददाताका अनुसार संसदीय दलको नेताका लागि एमाले नेता शेरधन राई र भीम आचार्यले मनोनयन दर्ता गराएका छन्। आचार्यको प्रस्तावक र समर्थकमा पाँचथरका गणेश काङबाङ र संखुवासभाका तुलसी न्यौपाने रहेका छन् भने राईको
प्रस्तावक र समर्थकमा झापाका हिक्मत कार्की सुनसरीका र जगदिस कुसियत रहेका छन्।
बामगठबन्धनको भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेलाई परेकोले एमालेको संसदीय दलको नेता जो बन्छ, उही यो प्रदेशको मुख्यमन्त्री निश्चित जस्तै छ।
पछिल्लोे समयमा मुख्यमन्त्रीमा दाबी गर्दै आएका एमाले नेता जीवन घिमिरे सहमतिको नारा सार्दै चुनावी मैदानबाट पछि सरेका छन् ।
११ बजेदेखि मनोनयन दर्ता भएपनि दाबिविरोध लगायतका अन्य प्रक्रिया पूरा गर्दा ३ ३० बजे मतदानसम्पन्न हुने नेकपा एमाले बताएको छ। संसदीय दलको नेता बन्न २६ मत आवश्यक पर्छ।
प्रदेश ३ मा शाक्य र पौडेलबीच प्रतिस्पर्धा
प्रदेश नं ३ मा दलको नेता सर्वसम्मत छान्ने एमालेको प्रयास सफल नभएपछि यहाँ पनि निर्वाचन हुने भएको छ ।
तुल्सीलाल प्रतिष्ठान बालकुमारी ललितपुरमा हुने निर्वाचनमा अष्टलक्ष्मी शाक्य र डोरमणी पोडेलले मनोनयन दर्ता गराएका छन् । शुरुमा धादिड.का राजेन्द्र पाण्डेले समेत दावी गर्दै आए पनि संस्थापन पक्षको आश्वासन नपाएका कारण उनी मैदानबाट पछाडि हटेका छन् ।
प्रदेश ३ मा १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने बताइएको छ ।
यो प्रदेशमा एमालेका ५८ सांसद छन् । दलको नेता जित्न कम्तिमा ३० जनाको मत आवाश्यक पर्छ ।