काठमाडौं, २७ चैत्र । नयाँ सरकार निर्माण गर्नका निम्ति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई सामूहिक बैठकमा डाकेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा तीन दलका बीचमा असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री के.पी. शर्मा ओलीको विकल्पमा नयाँ सरकार गठनको बारेमा छलफल हुने बताइएको छ ।
संसदभित्र निर्णायक मत लिएर बसको जनता समाजवादी पार्टीले भावि सरकार पूर्व आफन मागहरु संबोधन गर्ने प्रतिबद्धता खोजेकोले आजको बैठकमा यसै हुन्छ भन्न नसििकने अवस्था छ । किनभने आज बैठक बस्ने तीन वटै दलहरु प्रतिपक्षमा रहेका छन र उनीहरुबीच सैद्धान्तिक सहमति भएमा मात्र पछि भविष्यमा बन्ने सरकारले ती विषयलाई प्राथमिकतामा पारेर काम गर्नेछ ।
जसपा अलमलमै
यसैबीच बीबीसी नेपाली सेवाले बैठकको केही घण्टा अगाडिसम्म पनि जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कसलाई समर्थन गर्ने भन्नेबारे दोमनमै देखिनु भएको उल्लेख गरेको छ।
बिहीवारको बैठकको मुख्य उद्देश्य कांग्रेसको आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने प्रयासबारे ती दुई दलको धारणा बुझ्ने रहेको उक्त दलका नेता प्रकाशशरण महतले बताउनुभएको छ।
‘नेतृत्वको बारे हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ। त्यसबारे अरू दलको धारणा बुझ्न खोजेका छौँ ‘, सहमहामन्त्री डा. महतले भन्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष अनुरोधमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको एक प्रतिनिधि मण्डलले केही दिन पहिले जसपा अध्यक्ष महन्थ ठाकुरसंग भावि सरकार निर्माणको सम्बन्धमा छलफल गरेको थियो । त्यतिबेला जसपा अध्यक्ष ठाकुरले नेपाली कांग्रेसले आफ्नो नेतृत्व भन्ने कुरा गरेर आफूहरुलाई अप्ठ्यारोमा पारेको बताउनुभएको थियो ।
माओवादी केन्द्रले बारम्बार कांग्रेसलाई समर्थन गर्न सकिने बताउँदै आएको सन्दर्भमा अब जसपाको भूमिकानै प्रमुख हुनसक्ने ठानिएको छ।
संसदमा चौथो ठूलो दल भएपनि गणितको हिसाबले जसपाले दिने समर्थनले सरकार ढल्ने वा नढल्ने विषय निर्धारण गर्ने देखिएको छ। नेकपा एमाले बाहेकको सरकार बनाउन २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ (५३ मध्ये चारजना पदमुक्त) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।
जसपाले एकातिर प्रधानमन्त्री ओलीको सरकारसँग आफ्ना मागबारे कुराकानी चलाइरहेको छ भने अर्कोतिर माओवादी केन्द्र र कांग्रेससँगपनि छलफल गरिरहेको छ।
‘हामी कांग्रेसले डाकेको बैठकको स्वागत गर्छौँ। हामी सबैसँग सम्वाद गर्छौँ। कांग्रेसले कस्तो भूमिका खेल्न खोज्दैछ अनि जसपासँग कस्तो सहयोग खोजेको हो भन्ने कुरा पहिले बुझ्नुपर्यो। त्यसपछि हाम्रो निर्णय सुनाउँला’, जसपाका नेता राजकिशोर यादवले बीबीसीलाई बताउनुभयो।
‘वहाँहरूले समर्थन माग्दैमा दिइहाल्ने भन्ने छैन। हामी खुला छौँ।’
जसपाका तर्फबाट सरकारसँग सम्वादमा रहेका अर्का नेता लक्ष्मणलाल कर्णले पनि संवाद गर्न इन्कार नगर्ने तर जसले आफ्नो दलको माग पूरा गर्छ उसैलाई समर्थन गर्ने नीति रहेको बताउनुभयो।
‘परिणाम आयो भने यही सरकारलाई नै समर्थन गर्ने पनि हुनसक्छ’, कर्णले भन्नुभयो।
जसपाले बिहीवारमात्र आन्दोलनका समयमा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता सम्बन्धी सूची सरकारलाई बुझाएको छ।
‘त्यो सूचीको माग सम्बोधनमा अतिरिक्त संविधान संशोधन, नागरिकता जस्ता विषयमा हाम्रा कुराहरूलाई समग्ररूपमा सम्बोधन हुनुपर्ने हाम्रो भनाइ रहँदै आएको छ’, कर्णले भन्नुभयो।
जसपाको संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहिँ उहाँको दल केपी ओली सरकारलाई विस्थापन गर्न उत्सुक रहेको निरन्तर बताउँदै आउनुभएको छ।


















