तेहरान(इरान), ३० चैत्र । इरानको एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा परेको त्यहाँका परमाणुका एकजना उच्च अधिकारीले बताउनुभएको छ।
इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको भोलिपल्टै यस्तो हमला भएको हो।
संबन्धित अधिकारीले उक्त कार्यमा कसको संलग्नता छ भन्ने बताउनुभएन।
तर उहाँले अन्तर्राष्ट्रिय समुदायलाई ‘परमाणु आतङ्कवाद’लाई सम्बोधन गर्न आह्वान गर्नुभयो।
इजरेली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरेली साइबर हमलाको परिणाम भएको सङ्केत गरेका छन्।
गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो।
त्यसलाई अधिकारीहरूले साइबर हमलाको परिणामको रुपमा परिभाषित गर्नुभएको थियो ।
सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गर्नुभएको थियो।
तर अहिलेका राष्ट्रपति जो बाइडनले त्यसलाई पुनः अघि बढाउने पहल गरिरहनुभएको छ।
शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गर्नुभएको थियो।
त्यो देशको युरेनियम संवर्द्धन कार्यक्रमको मुख्य क्षेत्र हो।
युरेनियम संवर्द्धन गर्नका लागि सेन्ट्रिफ्यूजहरू आवश्यक पर्छन्।
संवर्द्धित युरेनियमलाई उर्जा उत्पादनका लागि रियाक्टरका रूपमा र आणविक हतियार बनाउन पनि प्रयोग गरिन्छ।
इरानले के भन्यो ?
एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई)का एकजना प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान एउटा घटना भएको बताउनुभयो।
उक्त घटना त्यस परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको उहाँको भनाइ छ।
उहाँले त्यसबारे थप जानकारी दिनुभएन तर इरानको फार्स न्यूज एजेन्सीलाई त्यहाँ कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको बताउनुभयो।
पछि सरकारी टेलिभिजनले एउटा वक्तव्य पढेको थियो। त्यसमा एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई तोडफोड र परमाणु आतङ्कवाद भन्नुभएको थियो।
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ।
इजरायलको भूमिका
इजराइली सार्वजनिक प्रसारक कानले उक्त घटना इजरायली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ।
उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो।
त्यसबेला अमेरिका र इजरेल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो।
त्यसलाई नाटान्जको सेन्ट्रिफ्यूज नष्ट गर्न प्रयोग गरिएको थियो।