काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गरेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त समुन्नत एवं सुसंस्कृत समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परता र सक्रियता जरुरी रहेको बताइन ।
राष्ट्रपति भण्डारीले भनिन् “देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्ने मैलै विश्वास लिएको छु ।”
उनले संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पु¥याउन र प्रभावकारीरुपमा भ्रष्टाचारको नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिइन । राष्ट्रपति भण्डारीले आयोगलाई संवैधानिकरुपमा भ्रष्टाचार नियन्त्रणको दायित्व सुम्पिएको भए पनि यस कार्यमा सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र सहयोगको आवश्यकता औँल्याइन ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताए ।
संविधानले अनुचित कार्यलाई आयोगको कार्यक्षेत्रभित्र नराखेकाले केही जटिलता आएको बताउँदै उनले विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिए । रासस