काठमाडौं, २ जेठ । कोरोना महामारीको दोस्रो लहरले सञ्चारकर्मीहरुलाई निमर्म ढंगले असर गर्न थालेको छ ।
काठमाडौंलाई आधार क्षेत्र बनाएर पत्रकारिता गरिरहेका दिनेश दाहालको जीवन चुँडेको कोरोनाले नेपालगञ्जका पत्रकार रइस साई र काठमाडौंका पत्रकार शान्तिराम कार्कीको पनि जीवन लिएको छ ।
पत्रकार कार्कीको निधन

नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे निधन भएको हो ।
झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी वहन गर्नुभएको थियो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।
पत्रकार साईको निधन

नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहनुभएका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २४२ जनाको मृत्यु भएको छ । वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्क्रमणका कारण ज्यान गुमाउने १०१ महिला र १४१ पुरुष हुनुहुन्छ । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको सङ्क्रमणकै कारण मृत्यु भएको छ । जिल्लामा करिब चार हजार सक्रिय सङ्क्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् । करिब तीन हजारभन्दा बढी सङ्क्रमित होम आइसोलेशनमा रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो ।


















