काठमाडौं, २ जेठ । कारोना भाइरसको महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको कुरा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताउनुभएको छ तर स्वास्थ्य मन्त्रालयका आधिकारीहरु भने नेपालको अवस्था काबूभित्रै रहेको दाबी गरिरहेका छन्।
शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताउनुभयो।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उहाँले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताउनुभयो।
डा. गेहब्रेयससले भन्नुभयो, “डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।”
नेपाल सरकारको धारणा
नेपाल सरकारका वरिष्ठ स्वास्थ्य अधिकारीले भने आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको बताउनुभएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओको त्यस्तो मूल्याङ्कन आएको हुनसक्ने बताउनुभयो।
के सङ्क्रमितको सङ्ख्या बढ्नु आपत्कालीन अवस्था देखिनका लागि एउटा आधार होइन र ?
डा. गौतम भन्नुहुन्छ, “सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ। शुक्रवार केही घटेको छ। एक सातामा अझ कम हुन्छ होला।”

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस
गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता नमागिएको बताउनुभयो।
उहाँले भन्नुभयो, डब्ल्यूएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ।
नेपालको अवस्था
नेपालमा हालको सङ्क्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ।
गएको दुई सातामा नेपालमा १ लाख १० हजार ७ सय ६५ जनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
त्यस्तो सो अवधिमा १ हजार ३ सय ७१ जनाको मृत्यु पुष्टि भएको छ।
तर स्वास्थ्य प्रवक्ताले आपत्कालीन अवस्थाको रूपमा कुनै विशेष सहयोग नलिईकन डब्ल्यूएचओबाट घटना पहिचान र त्यसलाई नियन्त्रणमा राख्न नेपाल कार्यालयबाट सामान्य सहयोगहरू मात्र लिइरहेको बताउनुभयो।
“नेपालको जोड सरसहयोग लिन परे भारत र चीनसँगै पहिले पहल गर्ने छ। त्यहाँबाट आपूर्तिहरू पनि सहज रूपमा गर्न सकिन्छ।”, उहाँको भनाइ छ,”नेपालमा सङ्क्रमण सुरु भएयता कुल सङ्क्रमितको २५ प्रतिशत गत दुई सातामा थपिएका हुन् भने कुल मृत्युको २९ प्रतिशत मृत्यु गएको दुई सातामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।”
शुक्रवारसम्म काठमाडौं जिल्लामा ३० हजार ४५२ जना सक्रिय सङ्क्रमित छन् भने अन्य दुई जिल्ला रुपन्देही र ललितपुरमा सात हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
थप चार जिल्लामा ३५ सयभन्दा बढी, थप पाँच जिल्लामा दुई हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
कुल १९ जिल्लमा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

शय्याको अभाव पहिले जस्तो छैन
नेपालमा बिरामीका लागि आवश्यक पर्ने अक्सिजन अभाव उच्च रूपमा बढेको र अस्पतालमा शय्या र चिकित्सकहरू अभाव रहेका विवरण आएका छन्।
बीबीसीको साँझपख कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले ‘सङ्क्रमित हुने र अस्पतालबाट छुट्नेको अवस्था नजिक-नजिक आइपुग्ने अवस्थामा’ व्यवस्थापन गर्न सकिने बताउनुभएको थियो।
उहाले सरकारी अस्पतालहरू सबै अब कोभिड अस्पताल बनेकाले ुअब शय्या थपिइरहेकोले तीन चार दिन अघिजस्तो समस्या नरहेकोु बताएका थियो।
तर निको हुनेको दर केही बढे तापनि शुक्रवार मात्र ८ हजार ५ सय २० सङ्क्रमित थपिँदा ६ हजार १ सय ३५ निको भएको विवरण सार्वजनिक भएको थियो।

अक्सिजन
भारतसँगको तुलनामा नेपाल कहाँ ?
भारतमा शुक्रवार तीन लाख ४३ हजार जनामा सङ्क्रमण र ४,००० जनाको मृत्यु पुष्टि गरिएको थियो।
नेपालमा भने ८,५२० जनामा सङ्क्रमण र २०३ जनाको मृत्यु पुष्टि भएको थियो।
सङ्ख्यात्मक हिसाबले भिन्नता देखिए पनि जनसङ्ख्याको अनुपातमा दुई देशको तथ्याङ्क हेर्दा नेपालको स्थिति चिन्ताजनक देखिन्छ।
बिहीवारसम्मको अवस्थामा नेपालमा प्रति एक लाख जनसङ्ख्यामा ३१ जनामा सङ्क्रमण भएको देखिन्छ भने भारतमा सो सङ्ख्या २६ छ।
भारतमा गत सातादेखि यो सङ्ख्या कम हुन थालेको छ भने नेपालमा अझै बढ्दो क्रममा रहेको देखिन्छ।
एक जनाबाट कति जनाको सङ्क्रमण सरिरहेछ भने देखाउने आर सङ्ख्या हेर्दा पनि नेपालको अवस्था खराब देखिन्छ।
भारतमा हाल सो सङ्ख्या १.१ रहेको छ भने नेपालको १.४६ रहेको छ।
नेपालमा यो दर अप्रिल १० मा विश्वकै उच्च २.१ रहेकोमा बिस्तारै घट्न थालेको हो।
मृत्युदर हेर्दा पनि भारतमा प्रति १० लाखमा तीन जनाको मृत्यु भएको छ भने नेपालमा सो दर ४.६ रहेको छ।
परीक्षण र सङ्क्रमण पुष्टिको औसत नेपालमा ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ।


















