काठमाडौं, २ जेठ । कोरोना भाइरसको प्रकोपको चपेटामा परेको राजधानी काठमाडौं अवस्था लगभग भारतकै जस्तो हुन पुगेको छ । सरकारी अस्पताल जानुस वा निजी नयाँ संक्रमित बिरामीका लागि ठाँउ छैन । अस्पताल चहार्दा चहार्दै कतिपय बिरामीले जीवन गुमाएका छन् । अस्पतालमा देहान्त भएकाहरुको अन्येष्टि आफन्तले व्यवस्थापन गर्न पाएका छैनन् । आर्यघाटमा पनि आफन्तको ,पार्थिव शरीरलाई टाढैबाट विदाई गरेका आफन्तहरुको दारुण दृश्य छ । आर्यघाटमा दाहसंस्कार गर्ने ठाँउको पनि अभाव देखिन थालेको छ । काठमाडौंका केही सरकारी अस्पताल र चहार्दै आर्यघाटसम्म घुम्नुभएकी रोजिता अधिकारीको अनुभव :
“घरमा वा अस्पतालमा मर्नुको मात्र फरक हो। यहाँ बेड पनि छैन, अक्सिजन पनि छैन। डाक्टरले ल्याउनु पर्दैन भनेका थिए, हामीले जबरजस्ती ल्यायौँ। बेड पनि पाइएन, अक्सिजन पनि पाइएन।”
बिहीवार मध्यान्ह काठमाडौंको वीर अस्पतालको आकस्मिक कक्ष नजिकै स्वयम्भूकी ४५ वर्षीय कर्मा थिंग आँखाबाट आँसु झार्दै फोनमा भनिरहेकी रहनुभएको थियो।
नजिकै गएर सोधेँ, “के भयो दिदी ?”
“तीन दिनदेखि ज्वरो आएको मेरो श्रीमान् बेड र अक्सिजन खोज्दाखोज्दै बित्नुभयो। हिजो बितेको मान्छेको शव अहिलेसम्म पाएका छैनौँ “,उहाँ झन् भक्कानिनुभयो।
आकस्मिक कक्षभित्र स्वास्थ्यकर्मी कोही बिरामीलाई “यहाँ शय्या छैन, अन्त खोज्नूस्” भनिरहेका थिए त कोही “अक्सिजनको जोहो गर्नूस्” भनिरहेका थिए।
त्रिविवि शिक्षण अस्पतालका दृश्य पनि फरक थिएनन्।
एक युवा आकस्मिक कक्षको ढोकामा भन्दै थिए, “तीन दिन कुर्दा पनि आईसीयू पाइएन। अक्सिजन पनि पर्याप्त पाइएन। यदि समयमै आईसीयू बेड पाएको भए बुबा बाँच्नुहुन्थ्यो।”
आकस्मिक कक्षको एउटा शय्यामा तीन जनासम्म बिरामी राखिएका थिए। भुइँमा पनि बिरामी थिए।

कोभिड बिरामी
बिरामीका आफन्तहरू स्वास्थ्यकर्मीसँग शय्या र अक्सिजनको याचना गरिरहेका दृश्य देखिन्थे। चिकित्सक र नर्सहरू शय्या र अक्सिजनको व्यवस्था गर्न सकिने अवस्थामा देखिँदैन थिए।
“हामी हेल्पलेस छौँ। शय्या छँदै छैन, अक्सिजन केही समयलाई धान्ला। तर बिरामीहरू थपिएको थपियै छन्”, एक चिकित्सकले भन्नुभयो।
तिलगङ्गाको बाग्मती पुलमा मानिसको भिड थियो।
कोही आफन्तको शव चिन्न खोज्दै थिए त कोही पुलबाटै अन्तिम बिदाइ गर्दै थिए।
तल खोलाको किनारमा कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको नेपाली सेनाले दाहसंस्कार गरिरहेको थियो।

वागमती पुलमा राखिएको दागबत्ती
थानकोटका दाजुभाइ मोहित र नरेन्द्र सिंह आफ्ना ६५ वर्षीय आमालाई आफैले दाहसंस्कार गर्न नपाउँदा भक्कानिइरहनुभएको थियो।
“आमा अस्पतालमा बित्नु भयो। एउटा दाइ र अर्को भाइ आइसोलेशनमा छन्। कोरोनाले परिवार नै उजाड्यो”, मोहितले भन्नुभयो।
“हामीले आफ्नो आमाको दाहसंस्कार नि गर्न पाएनौँ “, नरेन्द्रले थप्नुभयो।
त्यहाँ आधा घण्टाको अवधिमा थप १२ मृतकको शव आइपुग्यो।

नेपाली सेनाको शव व्यवस्थापन
टेकु अस्पतालको आँगनमै कोटेश्वरकी ४७ वर्षीय सङ्गीता खाती चिच्याउँदै हुनुहुन्थ्यो।
“तीन दिनदेखि यहाँ आएर बसेको छु। भित्र बेड नि दिँदैनन्। चिसोले खोकी बढेर निमोनिया भइसक्यो।”
एक दर्जनभन्दा धेरै बिरामीहरू टेकु अस्पतालको आँगनमै उपचारको पर्खाइमा थिए।
स्वास्थ्यकर्मीहरूले बिरामीलाई हेरिरहेका थिए तर “अक्सिजन छैन” र “बेड छैन” जस्ता शब्दहरू बारम्बार सुनिन्थ्यो।

कोभिड बिरामी
म आफैपनि कोरोनाभाइरस सङ्क्रमण भएर आइसोलेशन सकेर अस्पताल जाँदा यी दृ्ष्यहरूले मलाई झन् कमजोर बनायो।
बिरामीहरू अस्पतालमा जताततै थिए। स्वास्थ्यकर्मीहरूले सकेसम्म बिरामीको हेरचाह गरिरहेका थिए। तर अवस्थासहज भने पटक्कै थिएन।
झन्डै १० दिन उच्च ज्वरो, खोकी र श्वासप्रश्वास समस्याले थलिएर बाँच्न सफल भएकोमा म खुसी र अचम्मित थिएँ।
मनमनै सोचेँ, “धन्न भगवान् बचायौ।”(स्रोतःबीबीसी नेपाली न्यूज)








