काठमाडौं, ९ जेठ । नेपालमा आइतबार अपरान्हसम्म थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १ सय ९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
विगत २४ घण्टामा ७ हजार ६ सय ६४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार अपरान्ह बताउनुभयो।
अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
डा. गौतमका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ गरी कुल २ हजार ८ सय २१ जना कोभिड पुष्टि भएको हो।
मन्त्रालयले सार्वजनिक गरिएको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन विधिबाट ९ सय ३१ वटा तथा पीसीआर विधिबाट झन्डै १९ हजार वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा पीसीआर विधिबाट कोभिड पुष्टि हुनेको सङ्ख्या ७ हजार ५ सय ९८ छ।
मन्त्रालयका अनुसार अहिले देशभरि १ लाख १५ हाजर ५ सय ४७ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १ लाख ८ हजार भन्दा केही बढी घरमै छन् भने ७ हजार ३ सय ४९ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा ६ हजार ३ सय ४६ जनाको कोभिडका कारण मृत्यु भएको छ भने सङ्क्रमितको कुल सङ्ख्या ५ लाख १३ हजार नाघेको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १ हजार ७ सय २१ जना आईसीयूमा ४ सय ८४ जना भेन्टिलेटरमा छन्।

भारतको अवस्था
दक्षिणी छिमेकी भारतको आइतवार बिहानसम्मको तथ्याङ्कका अनुसार त्यहाँ अहिले २८ लाखभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
मृत्यु हुनेहरूको कुल सङ्ख्या ३ लाख पुग्न लागेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा २.६५ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
त्यहाँ अहिलेसम्म १९ करोड मात्राभन्दा बढी खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।(बीबीसीबाट)


















