काठमाडौं, १० जेठ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवातका कारण मंगलबारदेखि मध्य र पूर्वी नेपालमा बर्षा हुने जनाएको छ ।
विभागले आइतबार साँझ सार्वजनिक गरेको मौसम बुलेटिनमा भनिएको छ पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र जेठ १० गते चक्रवातमा परिणत भई मंगलबार सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ। उक्त चक्रवातको केहि असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको छ।
विभागले सो प्रणालीका कारण मंगलबार ११ गते अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ।
विभागका अनुसार देशका धेरै स्थानहरुमा बुधबार १२ गतेबाट केहि दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार १३ गते कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक(दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू(भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन हुन अनुरोध छ।
मनसुनको समय भएकोले मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले सजग गराएको छ ।


















