काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि दैनिक संक्रमित हुने र संक्रमणमुक्त हुनेको संख्या समान स्तरमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार विगत २४ घण्टामा ६ हजार ७ सय १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने १ सय ४५ जनाको मृत्यु भएको छ ।
विगत २४ घण्टामा १९,३५२ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा .समीरकुमार अधिकारीले बताउनुभएको छ।

सो अवधिमा ६हजार ७ सय १६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ जुन सङ्ख्या कुल दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ।
नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ र मृतकको सङ्ख्या ६ हजार ८ सय ४५ पुगेको छ।
अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

कोभिड
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा १ सय १३, ललितपुरमा २ सय ४१ र काठमाडौंमा १ हजार १ सय ३९ गरी उपत्यकामा कुल १ हजार ४ सय ९३ जनामा कोभिड पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिले देशभरि १ लाख १७ हजार सक्रिय सङ्क्रमण छ।
तीमध्ये १ लाख ८ हजार घरमै छन् भने ८ हजार ४ सय ५७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १ हजार ६ सय ७१ जना आईसीयूमा र तीमध्ये ४ सय ३४ जना भेन्टिलेटरमा छन्।
(बीबीसीबाट)


















