Prakash Adhikari May 26, 2021

धनगढी(कैलाली), १२ जेठ । नेकपा एमालेको सुदूरप्रदेश  प्रदेश संसदीय दलको बैठकले स्थायी कमिटी बैठकले नेकपाका त्रिलोचन भट्टको नेतृत्वमा रहेको सरकारलाई  दिएको समर्थन  फिर्ता लिन दिएको निर्देशनको अवज्ञा गरेको छ।

संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य पूर्णा जोशीले दिनुभएको जानकारी अनुसार अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय भएको छ ।

प्रदेश संसदीय दलले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको भनेर चुनौती पनि दिएको छ ।

बैठकले हालसम्म प्रदेश सरकार कोरोना जस्तो घातक संक्रमणको महामारीको रोकथामा र निइन्त्रणमा  रहेको र आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकाले सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन जारी गरेको थियो ।

आजको बेठकमा एमालेका २१ जना सांसद बैठकमा उपस्थित थिए । तीमध्ये ३ जना ओली समूहका सांसद छन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना (सभामुख सहित) छन्।

प्रदेश सभामा नेपाल–खनाल समूह बलियो छ। एमालेको नेपाल–खनाल समूहमा १८ सांसद छन् भने ओली समूहमा ६ सांसद देखिएका छन्।

ओली समूहका अन्य ३ सांसद जिल्लाबाहिर हुनाले बैठकमा अनुपस्थित रहेका थिए ।

Share Now

Leave a comment.