प्रकाश अधिकारी
काठमाडौं, १२ जेठ । संसद विघटन गरेर काम चलाउ सरकारको प्रमुखमा रुपान्तरित हुनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीको अन्तर्राष्ट्रिय साखः समाप्त भएपछि कोरोना खोप जुटाउन राष्ट्रपति विद्यादेवी भण्डारीआफै सक्रिय हुन थाल्नुभएको छ ।
बुधबार राष्ट्रपति भण्डारीले चिनिया समकक्षी सि जिनफिड.संग टेलिफोन सम्वाद गरेर नेपालमा कोरोनाको दोस्रो लहर भुसको आगोसरी फैलिएकोले नेपाली जनतालाई महामारीबाट जोगाउन थप खोपको जरुरी भएको बताउनुभएको थियो । उहाँले स्वदेशमा नै कोरोना भाइरसविरुद्धको गुणस्तीय खोप उत्पादन गरेको चीनको उदारतापूर्ण सहयोगको अपेक्षा नेपाल सरकार र जनताले गरेको बताउनुभएपछि चिनिया राष्ट्रपतिले १० लाख मात्रा(डोज)खोप दिने वचन दिनुभएको छ ।
नेपालका लागि चीनकी राजदूत होउ याङ्चीले ट्वीटरमार्फत राष्ट्रपति सि जिनफिड.संग नेपाली समकक्षी विद्यादेवी भण्डारीले वार्ता गर्नुभएको र चीनका राष्ट्रपतिले अनुदानमा १० लाख मात्रा खोप दिने बचन दिनुभएको उल्लेख गर्नुभएको छ ।
https://twitter.com/PRCAmbNepal/status/1397520476625276928
नेपालको परराष्ट्र मन्त्रालयले पनि एक प्रेस विज्ञप्तिमार्फत दुई राष्ट्रपतिबीचको कुराकानीको विवरण सार्वजनिक गरेको छ।
विज्ञप्तिमा राष्ट्रपति भण्डारीले चीनबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्नका लागि चिनियाँ सरकारले सहजीकरण गरिदिन पनि चिनियाँ समकक्षीसँग आग्रह गरेको जनाइएको छ।
Rt. Hon. President Bidya Devi Bhandari and H.E. President Xi Jinping of PRC discussed bilateral relations & COVID-19 related cooperation over a telephone conversation today. President Bhandari thanked President Xi for the additional grant of one million COVID-19 vaccine to Nepal
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 26, 2021
बुधवार उत्तरी छिमेकी चीनका समकक्षीसँग कुराकानी गर्नुभएकी राष्ट्रपति भण्डारीले मङ्गलवार दक्षिणी छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविदलाई पत्राचार गरेर खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले बताउनुभए अनुसार उहाँले भारतीय समकक्षीलाई हिजो पत्राचार गर्नुभएको हो । भारतबाट हालसम्म जवाफ आइसकेको छैन ।

खोप
चीनले नेपाललाई कोरोना भाइरसविरुद्धका चीनमा निर्मित कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको ८ लाख मात्रा अनुदानमा दिइसकेको छ भने भारतले उसको देशको सिरम इन्स्टिच्युटबाट उत्पादित १० लाखमात्र कोभिशिल्ड नामक खोप उपलब्ध गराईसकेको छ ।नेपाली सेनाका लागि पनि भारतीय सेनाले एक लाख मात्रा त्यस्तो खोप प्रदान गरेको थियो।
भारतमा कोरोना भाइरसको दोस्रो लहर आरम्भ हुनुपहिले नै नेपालले भारतबाट २० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने संझौता गरी १० लाख मात्रा ल्याएको थियो । तर त्यसपछि खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटका नेपाली एजेण्ट सुरज बैद्य र विजय दुगडले आफूहरुमार्फत खोप खरिद हुनुपर्ने तथा सरकारले प्रत्यक्ष खरिद गरेपनि आफूहरुलाई एजेन्टको रुपमा घोषित गरिनुपर्ने मागदावी सहित यसको खरिदमा कमिशन खाने दाउ रचेपछि सरकारले थप ५० लाख खोप किन्ने योजना बिलम्बित हुन गयो भने अर्कोतिर पैसा तिरिसकेको १० लाख मात्रा खोप पनि आउन पाएन ।
यसबीचमा भारतमा दोस्रो लहरको व्यापक विनाश सार्वजनिक भएपछि भारतले खोप निर्यातमा पावन्दी लगायो र नेपालले खोप किन्न पाएन।भारतमा कोरोनाको महामारी चर्को रुपमा फैलिएको र त्यहाँ खोप लगाउन बाँकी जनसंख्या थुप्रै भएकोले नेपालले भारतीय बजारबाट खोप किनेर ल्याउने संभावना निकै झिनो छ ।
विश्व स्वास्थ्य संगठनसहित विकसित मुलुकहरुले विपन्न र कमजोर मुुलुकहरुलाई खोप उपलब्ध गराउन स्थापना गरेको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको अधिकारीहरूले जनाएका छन्। खोप लगाउन बाँकी जनसंख्याको तुलनामा त्यो मात्रा नगण्य हुन आउछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाखभन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् भने छ लाखभन्दा बढीले दोस्रो मात्रा पनि लगाएका छन्। ३ करोडको हाराहारीमा जनसंख्या भएको नेपालमा खोप लगाउन बाँकी जनसख्या ठूलो छ ।
प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा रहेका विदेशी कुटनीतिक नियोग र दातृ निकाय तथा संस्थाहरुका प्रमुखहरुलाई बोलाएर खोप लगायतका कोरोना भाइरससंग जुध्ने स्वास्थ्य उपकरण र औषधीहरुको उपलब्ध गराइदिन निरन्तर आग्रह गरिरहनुभएको छ ।
परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना कुटनीतिक नियोगहरु पनि परिचालित गरिरहेको छ तर अक्सिजन सिलिण्डर,अक्सिजन कन्सन्ट्रेटर, विरामीको शरीरमा रहेको अक्सिजनको स्तर मापन गर्ने अक्सिमीटर, टाढाबाट शरीरको तापक्रम मापन र्ने थर्मल गन, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाई कर्मीका लागि पीपीई, सुरक्षण पञ्जा, सर्जिकल माक्स् लगायतका औषधी उपचारका उपकरण र सामग्री सहयोग दिए पनि संवन्धित मुुलुकहरु नै पूर्णत खोपयुक्त नभएकोले खोपको सहयोग नेपालले पाउन सकेको छैन् ।
अमेरिकाले पहिले किनेर राखेको तर स्वदेशमा उपयोग नगरेको अक्ट्राजेनिका खोप प्राप्तिका लागि नेपाली नागरिकहरुका तर्फबाट पनि अमेरिका समक्ष निवेदन हालिएको छ । त्यस्तै बेलायतले पनि नेपाललाई खोप र अन्य स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने जनाएको छ ।
भारत,चीन, अमेरिका, स्वीजरल्याण्ड, सिंगापुर, अष्ट्रेलियाले स्वास्थ्य सामग्रीहरुमा सघाएका छन् ।
संसदीय लोकतन्त्र भएका मुलुकमा सरकारले ससदको अधिवेशन बोलाएर यस्ता राष्ट्रिय समस्यामा छलफल गरी संसदको साथ लिएर कोरोनाको महामारी रोकथाम र नियन्त्रण तथा नागरिक स्वास्थ्योपचारको व्यवस्थापन गरेको छ । तर नेपालमा भने भैरहेको संसद विघटन गरेर प्रधानमन्त्री के.पी. शर्मा ओली आफै काम चलाउ सरकारमा रुपान्तरित हुनुभएको छ । विभिन्न मुलुकले दिएका स्वास्थ्य सामग्रीहरु आफ्ना पार्टीका मन्त्री र सांसदहरुको सिफारिसका आधारमा जिल्ला पठाएको आरोपमा बदनाम बन्नुभएको छ ।
संसद विघटन गरेर कार्यकारी र विधायिकी अधिकार आफूमा केन्द्रीत गरी बलियो प्रधानमन्त्री बनेको भ्रममा पर्नुभएका प्रधानमन्त्री झन कमजोर बन्नुभएको छ । संसद विघटन गरेपछि स्वतः पदमुक्त भई चुनावी सरकारको प्रमुखमा रुपान्तरित हुनुभएका प्रधानमन्त्री आफूलाई जन्माउने मातृसंस्था प्रतिनिधिसभाको हत्या गरेकोले संरक्षकरहित टुहुरो बन्नुभएको छ । विदेशी सहयोग चुनावी दाउपेचमा दुरुपयोग गरेको र अझै गर्ने संभावनाका दिनदिनै साखः गुमाउदै जानुभएको छ ।


















