जनकपुरधाम(धनुषा),२४ जेठ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको छ ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।
विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना , ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी , नवलकिशोर साहलाई सामाजिक र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस र माओवादीसंग संयुक्त सरकार गठन गर्ने तयारी
महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पदमुक्त भैसकेको नेकपा एमालेको सरकारमा गएपछि असन्तुष्ट हुनुभएका जनता समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई निर्वाचित गरी ठाकुर महतो पक्षका मन्त्रीहरुलाई सरकारबाट गलहत्याउनुभएको हो ।
अब नेपाली कांग्रेस र नेकपा माओवादीलाई साथमा लिएर सरकार बनाउने उहाँको योजना रहेको बताइएको छ ।


















