Prakash Adhikari July 7, 2021

काठमाडौं, २३ आषाढ (बीबीसी)। प्राण घातक कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि नेपालले चीनसँग खोप खरिद गरेपछि चीनमा विकसित अन्य दुईथरी चिनियाँ खोपले नेपालमा आपत्‌कालीन प्रयोगको अनुमतिका लागि प्रयास थालेका छन् ।

नेपालमा आपत्‌कालीन प्रयोगको अनुमतिबारे बुझ्न आउनेमा क्यानसिनो खोप र तेस्रो चरणको परीक्षणमा रहेको अर्को चिनियाँ खोप रहेका छन्।

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार विभिन्न देशमा अनुमति पाएको क्यानसिनो खोपका तर्फबाट आपत्‌कालीन अनुमति प्राप्त गर्ने प्रक्रियाबारे जानकारी मागिएको छ।

गतसाता विभागले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबाट आपत्‌कालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिड खोप सोझै भित्र्याउन सकिने निर्णय गरेको थियो।

चिनियाँ खोपबारे थाहा भएका जानकारी

अधिकारीहरूले अनुमतिको प्रक्रिया बुझेका दुई खोपबारे विस्तृत विवरण खुलाइसकेका छैनन्।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सको भ्याक्सिन ट्र्याकरका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले चिनियाँ सेनाको सैन्य स्वास्थ्य प्रतिष्ठानसँग मिलेर क्यानसिनो खोप विकास गरेको हो।

कोभिड १९ भ्याक्सिन ट्र्याकर डट अर्गका उक्त खोपलाई चीनको सैनिक आयोगले सैनिकका लागि प्रयोग गर्न अनुमति दिएको छ।

चीनमा प्रयोगका लागि अनुमति पाएको उक्त खोपले आर्जेन्टिना, चिले, हङ्गेरी, इक्वेडर, मलेसिया, मलडोभा, पाकिस्तान र मेक्सिकोमा आपत्‌कालीन प्रयोग अनुमति पाएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

एक मात्रा मात्रै दिए पुग्ने उक्त खोपको प्रभावकारिता ६५.२८ प्रतिशत देखिएको जनाइएको छ।

यो बाहेक अर्को चिनियाँ खोप भने तेस्रो चरणको परीक्षणमै रहेको केसीले बताउनुभयो।

“उहाँहरू दुवैका तर्फबाट प्रक्रियाबारे चासो राखिएको थियो। त्यसमा केही निर्णय भएको छैन।”, के.सी.ले बताउनुभयो ।

क्यानसिनो
तेस्रो चरणको परीक्षणको परिणाम, खोप उत्पादन हुने देशका नियामक निकायले आपत्‌कालीन प्रयोगका लागि दिएको अनुमति र डब्ल्यूएचओले सूचीकृत गरेको तथ्यहरूलाई आधार मान्दै नेपालको नियामक निकायले खोपलाई अनुमति दिने गरेको छ।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यातजस्ता कैयौँ विज्ञले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ५० प्रतिशतभन्दा प्रभावकारी देखिएका जुनसुकै खोप प्रयोगमा ल्याउन सकिने बताउँदै आउनुभएको छ।

हालसम्म चीनमा उत्पादन भएका भेरोसेल र सिनोभ्याक, भारतमा उत्पादन भइरहेको कोभिशील्ड र कोभ्याक्सिन खोप अनि रुसमा उत्पादित स्पुतनीक भी खोपलाई आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएको छ।

खोप
औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेपछि मात्रै नयाँ खोपहरू नेपाल भित्र्याउन सकिने व्यवस्था छ।

तर अघिल्लो साता विभागले डब्लूएचओले आपत्‌कालीन प्रयोगका लागि स्वीकृत गरेका जुनसुकै कोभिड १९ विरुद्धका खोप नेपालमा भित्र्याउन सकिने निर्णय गरेको छ।

केसी भन्नुहुन्छ, “यो निर्णयपछि हामीलाई समय र स्रोत दुवैको बचत भएको छ। डब्ल्यूएचओले अनुमति दिएका जुनसुकै खोप स्वतः मान्य हुने भनेपछि अब कोभ्याक्स र अरूलाई त्यस्ता खोप ल्याउन सहज हुन्छ।”

डब्ल्यूएचओले आपत्‌कालीन अनुमतिका लागि आवेदन दिएका २१ वटा खोपमध्ये आस्ट्राजेनेका, फाइजर(बायोएनटेक, जोन्सन एन्ड जोन्सन, मोडेर्ना, सिनोफार्म र सिनोभ्याकले बनाएका खोपलाई सूचीकृत गरेको छ।

नेपालले हालसम्म कोभिशील्ड र भेरोसेल खोप दिएर देशव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो सातासम्म नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशतले पहिलो मात्रा र तीन प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्।

 

 

Share Now

Leave a comment.