Prakash Adhikari July 8, 2021

फणीन्द्र दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, २४ आषाढ । संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना रिची एलनले भन्नुभएको छ, “संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी भित्र्याउने उद्देश्यले काम गरिरहेको छ। सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न हामीले गरिरहेका छौँ।”

अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको छैन। तर त्यो ुउल्लेख्य परिमाणुमा आउने बताइएको छ।

दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बीबीसीलाई बताउनुभएको थियो।

बीबीसी नेपालीलाई प्रतिक्रिया दिदैँ काठमाडौंस्थित अमेरिकी राजदूतावासकी प्रवक्ताले कानुनी र बन्दोबस्तीका चुनौती सम्बोधन गर्न आफूहरूले काम गरिरहेको जनाउनुभएको छ।

कसलाई कति खोप ?

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले आपत्‌कालीन प्रयोग अनुमति दिएका खोप नेपाल भित्र्याउन कुनै बाधा नरहेको प्रतिक्रिया दिएका छन्।

भारत र चीनबाट अनुदान तथा खरिद गरी भित्र्याएको खोपका मद्दतले नेपालको जनसङ्ख्याको तीन प्रतिशतभन्दा बढीलाई दुवै मात्रा र नौ प्रतिशतभन्दा बढीलाई पहिलो मात्रा खोप दिएको छ।

बाइडन प्रशासनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई २ करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गत जून महिनामा गरेको थियो।

अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५ -२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो।

खोप

खोप : जोनसोन एन्ड जोनसनको खोप नेपालले प्राप्त गर्ने भनिएको छ

ती दुवै देशलाई मोडेर्नाको खोप दिइएको भए पनि नेपाललाई भने अमेरिकाले एउटा मात्रा मात्रै लगाउँदा हुने जोनसोन एन्ड जोनसनको खोप उपलब्ध गराउन लागेको बीबीसीले थाहा पाएको छ।

विश्वव्यापी खोप अभियान कोभ्याक्समार्फत् उक्त खोप नेपाललाई दिने भनिएको छ।

अघिल्लो साता वाशिङ्टन डीसीस्थित नेपाली राजदूतावासले जारी गरेको प्रगति विवरणमा नेपालले प्राप्त गर्ने खोपको सङ्ख्या प्रस्ट नभए पनि नेपाली पक्षले सङ्क्रमणको उच्च दर र आयस्तरका आधारमा बढी मात्रा उपलब्ध गराइनुपर्ने धारणा राखिरहेको उल्लेख गरिएको थियो।

नेपाली अधिकारीहरूको भनाइ

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स अभियानबाट खोप प्राप्त गर्न विलम्ब भएको उल्लेख गर्दै डब्ल्यूएचओले आपत्कालीन प्रयोगको अनुमति पाएका जुनसुकै खोप जतिबेला पनि नेपालमा भित्र्याउन सम्भव रहेको बताउँछन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भन्नुभएको छ, “डब्ल्यूएचओले आपत्कालीन प्रयोगका लागि मान्यता दिएका खोपहरू भित्र्याउन मिल्नेबारे मन्त्रिपरिषद्ले केही दिन पहिले एउटा निर्णय गरेको छ। त्यसले सबै बाटो खोल्छ।”

डा. अधिकारीले खोप भण्डारणमा पनि चुनौती नहुने उल्लेख गर्नुभएको छ।

अमेरिका
अमेरिकाले कोभिड१९ सँग जुझ्न नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो

उहाँ भन्नुहुन्छ, ूहामीसँग एकैचोटी ७० ८० लाख खोप कहाँबाट आउँछ ? हामीसँग त्यो भन्दा बढी मात्रा खोप भण्डारण गर्ने क्षमता छ। हामीले खोप आउँदै गर्दा त्यसलाई लगाएर पनि सक्दै जाने भनेका छौँ। त्यही भएर भण्डारणमा पनि समस्या हुने देखिँदैन।ू

नेपालले हालसम्म आफूले भारत र चीनबाट खरिद गरेको सहित ४२ लाख ४८ हजार मात्रा खोप भित्र्याएको छ।

त्यसमध्ये १८ लाख चीनले र ११ लाख भारतले अनुदान दिएका थिए।

भारतबाट खरिद गरिएको २० लाखमध्ये हालसम्म १० लाख खोपमात्रै नेपालले प्राप्त गरेको छ।

कोभ्याक्स अभियानले यसअघि नै नेपालले ३ लाख ४८ हजार मात्रा खोप दिएको थियो।

चीनसँग खरिद गरिएको ४० लाख खोप लिन नेपालको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको विमान बिहीवार चीनतर्फ जाने अधिकारीहरूले जनाएका छन्।

बुधवारसम्ममा २६ लाख ११ हजार ८०७ नेपालीले पहिलो मात्रा खोप र ८ लाख ५१ हजार ३०० नेपालीले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

Share Now

Leave a comment.