काठमाडौं,२५ आषाढ । सरकारले चीनसंग खरिद गरेको ४० लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज नेपाल आइपुगेको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान चिनिया खोप भेरोसेलको उक्त मात्रा ल्याइएको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताउनुभयो ।
खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो ।
विभागले साउन ८ गतेसम्म थप उडानमार्फत बाँकी खोप नेपाल ल्याइने जनाएको छ ।
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।
भण्डारणको चिन्ता
नेपालले चीनबाट दुई हप्ताको अवधिमा ‘ठूलो परिमाणमा ‘ खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्।
कोभिड खोप निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने र गाउँ गाउँसम्म ‘कोल्ड चेन’को व्यवस्था गरेर उपलब्ध गराइनुपर्ने हुँदा चुनौती रहेको जानकारहरू बताउँछन्।
तर राष्ट्रिय खोप कार्यक्रमका संयोजक डा. झलक शर्मा गौतमले भने आफूहरू त्यसका लागि तयार रहेको बताउनुभएको छ।
नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने छ।
नेपालमा प्रयोग गरिएको कोभिशील्ड खोपको एक भाएलमा १० मात्रा हुने हुँदा त्यो खोप तुलनात्मक रूपमा ठूलो परिमाणमा राख्न सकिने हुन्छ।
हाल नेपालमा प्रयोग भएको चिनियाँ भेरोसेल खोपको ुप्रिफिल्ड सिरिन्जुले भने निकै धेरै स्थान ओगट्ने गौतमको भनाइ छ।

खोप
‘कोभिशील्डले लिनेभन्दा १३० गुणा बढी ठाउँ लिने रहेछ प्रिफिल्ड सिरिन्जले’, उहाँले भन्नुभयो।
अहिलेको अवस्था हेर्दा देशैभरि गरेर लगभग ४० लाख मात्रा भेरोसेल खोप भण्डारण क्षमता रहेको उहाँको भनाइ छ।
कहाँ छ भण्डारण सुविधा ?
त्यसका लागि केन्द्रीय स्तरका भण्डारण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकु अनि पथलैयामा रहेको छ।
त्यस्तै हेटौँडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू रहेको र त्यसलाई विस्तार गर्ने कार्य पनि भइरहेको अधिकारीहरूको भनाइ छ।
धनुषा जिल्लामा पनि भण्डारण केन्द्र निर्माण गर्न लागिएको बताइएको छ।
विमानस्थलमा रहेको भण्डारण केन्द्रको क्षेत्रफल २४ हजार घनमिटर रहेको अधिकारीहरूले बताएका छन् जसमा चीनबाट ल्याउन लागिएको भेरोसेल खोपका आठ लाखभन्दा बढी भाएल राख्न सकिने बताइएको छ।
एकै पटक निकै ठूलो परिमाणमा खोप प्राप्त हुने स्थिति बनेको अवस्थामा निजी क्षेत्र वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्न सकिने र त्यसका लागि आफूहरू सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको गौतम बताउनुहुन्छ।

खोप
“तर माइनस ७० वा ८० तापक्रमको हो भने त्यसमा चाहिँ हामीलाई समस्या हुन्छ”, उहाँले भन्नुभयो।
भेरोसेलको हकमा २ देखि ८ डिग्री सेन्टिग्रेड तापमानमा खोप राख्नुपर्ने हुँदा ‘तत्काल समस्या नहुने’ सरकारी भनाइ छ।
चीनबाट ल्याउन लागिएको खोप केही दिनमै लगाउन सुरु गरिने हुँदा भण्डारण गर्ने स्थानको चाप पनि घट्दै जाने अधिकारीहरू बताउँछन्।
नखोली राखिएको भेरोसेल खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ।
लगाउन सुरु गरिएपछि भने कोल्ड चेन कायम गरेर छ घण्टाभित्र खोप दिइसक्नुपर्छ।
यसपटक चीनबाट आउने भेरोसेल खोपको एक भाएलमा दुई मात्रा खोप हुने सूचना आफूहरूले प्राप्त गरेको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बताउनुभएको छ ।
उक्त सूचनाका आधारमा अनुमान लगाउँदा ५० लाखभन्दा बढी खोपका मात्रा भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको उहाँको भनाइ छ।
वितरणको चुनौती पनि
प्राकृतिक वा भौतिक अप्ठेरा बाहेकको अवस्थामा ूहप्ता(दश दिनमा खोप कार्यक्रम नै सुरु गरेर देखाइू सकेकाले अबका दिनमा पनि समस्या नहुने गौतम बताउँनुहुन्छ।
“एक दिनमा ३ लाखसम्म खोप लगाएका छौँ “, उहाँले भन्नुभयो।

कोरोनाभाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन पालो पर्खेर बसेका सर्वसाधारण
त्यस्तै ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख सर्वसाधारणहरूलाई ४१ जिल्लामा एकै दिन खोप दिइएको र काठमाडौं जिल्लामा पनि एकै दिनमा ३६ हजारभन्दा बढीलाई खोप दिइएको अनुभव आफूहरूसँग रहेको गौतमले जानकारी दिनुभयो।
त्यसका लागि तालिमप्राप्त जनशक्तिको ुुकमी नरहेकोुु उहाँको जिकीर छ।
नियमित खोप कार्यक्रम अन्तर्गत महिनामै लगभग १६ हजार क्लिनिक चलाउने, प्रत्येक गाउँ विकास समितिमा (साबिकको) दुई जना खोप दिन सक्ने जनशक्ति रहेको र उनीहरूलाई सहयोग गर्न करिब ६० हजार महिला स्वयंसेविका रहेकाले त्यो अनुभवले ठूला योजना कार्यान्वयन गर्न सहयोगीसिद्ध हुने उप्रेतीले जानकारी दिनुभयो।
जानकार के भन्छन् ?
सरकारी अधिकारीहरूले खोप भण्डारण र वितरणमा समस्या नहुने गरी व्यवस्था मिलाइएको बताए पनि जानकारहरू भने नेपालको प्रणाली नियमित खोप कार्यक्रमलाई आवश्यक पर्ने हिसाबले तयार पारिएको बताउँछन्।
जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिने लक्ष्य रहेको अवस्थामा हालको भण्डारण क्षमता कम हुने उनीहरूको भनाइ छ।
“देशैभरि खोप पुर्याउनुपर्यो। कोल्ड चेन मेन्टेन गरेर सुरक्षित रूपमा देशैभरि पुर्याउन चुनौती नै छ”, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका पूर्वनिर्देशक भोगेन्द्र डोटेलले भन्नुभयो।
एकै पटक ठूलो परिमाणमा खोप ल्याउन नसक्दा पटकपटक लिन जानुपरेको र त्यसले ढुवानी लगायतका खर्च समेत बढाएको उहाँ बताउँनुहुन्छ।
त्यसबाहेक कोभिड महामारी पश्चात् अपेक्षाकृत रूपमा भण्डारण क्षमता नबढाइनु र नियमित खोप कार्यक्रमका लागि तयार गरिएको संरचनामै काम चलाइनुले भविष्यमा समस्या पार्न सक्ने डोटेलले सङ्केत गर्नुभयो।
तर उप्रेतीले भने नियमित खोप भण्डारण गर्न चाहिने क्षेत्रफल र कोभिडका लागि उपलब्ध हुने क्षेत्रफलको हिसाब गरेर व्यवस्था मिलाइएको दाबी गर्नुभयो।
(स्रोत : बीबीसी नेपाली)


















