काठमाडौं, २९ आषाढ । भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो ।
सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।
अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।
डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ ।
स्याङजा र गोरखामा पनि देखियो
यस अगाडि स्याङजा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँचवटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।
गण्डकी प्रदेशको स्वास्थ्न निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीनजना महिलामा डेल्टा (बि.१.६१७.२)पुष्टि भएको हो । यो भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन आग्रह गरिएको उनले बताए।
शर्माका अनुसार यहाँबाट काठमाडौं र काठमाडौंबाट पनि त्यो नमूना परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो ।
नुवाकोटमा डेल्टा र डेल्टा प्लस
हालै नुवाकोट जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ भेटिएको थियो। नुवाकोट जिल्ला अस्पताल त्रिशुलीले पठाएको एउटा नमुनमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको हो।
अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। चार नमुना विदेश पठाइएको मध्ये एक नमुनामा डेल्टा प्लस भेटिएको छ भने ३ वटा नमुनामा डेल्टा भेटिएको छ।
कोरोना डेल्टा भेरियन्ट ६० देखि शतप्रतिशत बढी संक्रामक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका उमेर समूहलाई उच्च संक्रमण गराउन सक्ने बताइएको छ। यो भेरियन्टबाट फोक्सोलाई बढी असर पार्ने विज्ञहरुको भनाइ छ।


















