Prakash Adhikari July 13, 2021

काठमाडौं, २९ आषाढ । सरकारले चीन र अमेरिकाबाट हालै ल्याइएका कोभिड खोपको वितरण सम्बन्धमा लक्षित समूहहरू निर्धारण गरेको छ।

स्वास्थ्य सेवा विभागले चीनबाट ल्याइएको भेरोसेल खोप ५५ वर्ष उमेर माथिकालाई र अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्ष उमेर समूहमा दिने जनाएको छ।

यी उमेर समूहमा पहिलो मात्रा खोप लगाउन बाँकीले ती खोपहरू पाउनेछन्।

सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै खोप कार्यक्रमहरू सञ्चालन गरिने सरकारले जनाएको छ।

अन्य प्राथमिकता

तोकिएको उमेर समूहबाहेक भेरोसेल खोपका लागि विश्वविद्यालय एवं विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू समेत योग्य हुने जनाइएको छ।

त्यसबाहेक उक्त खोप सार्वजनिक यातायातका चालक, सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नेपालीहरूले समेत पाउनेछन्।

खोप

खोप

अहिलेसम्म खोप नलगाएका तर सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्नेहरूलाई समेत चिनियाँ खोप दिइने जनाइएको छ।

जोनसन एण्ड जोनसन खोप चाहीँ पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले समेत पाउनेछन्।

नेपालमा रहेका शरणार्थी एवं यसअघिका खोप अभियानमा छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत उक्त अमेरिकी खोप दिइने जनाइएको छ।

नेपालमा कतिले पाए खोप ?

२८ असारसम्मको सरकारी विवरण अनुसार अहिलेसम्म नेपालमा १० लाख ७९ हजार १ सय ९२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

खोप

खोप
सोमवार कोभ्याक्स सहायता अन्तर्गत अमेरिकी सहायताको १५ लाख ३४ हजार ८५० मात्रा जोनसन एण्ड जोनसन खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये ८ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको थियो।

नेपाल ल्याइएकामध्ये जोनसन एण्ड जोनसन एक मात्रा मात्र लगाए पुग्ने खोप हो भने कोभिशिल्ड र भेरोसेल दुवै दुईवटा मात्रा आवश्यक पर्ने बताइएको छ।

संक्रमणको अवस्था

नेपालमा सोमवार थप २ हजार ३ सय ७० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको र थप १८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ८४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३ हजार ८ सय ९५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको झण्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १ हजार १ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन्।

यससँगै नेपालमा सरकारी तथ्याङ्कमा दर्ता भएका कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या झन्डै सात लाख १ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ४ सय पुगेको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.