काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको अभिभावकीय भूमिका बारे प्रतिनिधिसभामा प्रश्न उठाउनुभएको छ ।
उहाँले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले राख्नुभएको आफ्नो नेतृत्वमा बनेको सरकारलाई प्रतिनिधिसभाको विश्वास प्राप्त छ भन्ने प्रस्तावमा बोल्दै त्यस्तो प्रश्न उठाउनुभएको हो ।
उहाँले राष्ट्रपतिको आह्वान बमोजिम धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार बनाउने सन्दर्भ उल्लेख गर्दै आफूहरुले गत जेठ ७ गते राष्ट्रपतिसामु प्रस्तुत गरेको १ सय ४९ जनाको हस्ताक्षरलाई अस्वीकृत गर्दा संविधानको उपहास भएको बताउनुभयो।
पूर्व प्रधानमन्त्री प्रचण्डले संविधानको पालना र देशको संरक्षकको भूमिका पाउनु भएको राष्ट्रपतिको काम कारबाही प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा अस्वाभाविक घटनाक्रम भएको बताउनुभयो।
राष्ट्रपति कार्यालयले त्यस्तो गल्ती सर्वोच्च अदालतको आषाढ २८ को फैसला आएपछि आषाढ २९ गते प्रधानमन्त्रीको नियुक्ति गर्दा पनि दोहोर्याएको उहाँले स्मरण गर्नुभयो । संविधानको धारा उल्लेख नगरेर “सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री नियुक्त गरिएको” विज्ञप्ति निकालिएको परिघट्नाले राष्ट्रपतिको अभिभावकीय भूमिकामा प्रश्नचिन्ह लाग्न गएको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा प्रयोग भएको भाषा संविधानको मर्म र भावना विपरीत थियो।”
ओलीमाथि प्रचण्ड -प्रहार
विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै उहाँले प्रधानमन्त्री देउवाो शपथ ग्रहण कार्यक्रममा निवर्तमान केपी शर्मा ओलीको अनुपस्थितिप्रति असन्तुष्टि प्रकट गर्नुभयो।
विगतमा नवनियुक्त प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीबीच कुर्सी साटासाट गर्ने प्रचलन ओलीको अनुपस्थितिमा खण्डित भएको प्रसङ्ग प्राविधिक कुरा मात्र नभएको उहाँको भनाइ थियो।
पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कोभित्र लोकतान्त्रिक संस्कार छ, भिन्न मतलाई स्विकार्न सक्ने आँट कोमा छ, भिन्न परिस्थितिको सामना गर्न सक्ने आँट कोसँग छ कि छैन भन्ने गम्भीर नैतिकता, संस्कार र लोकतन्त्रसँग जोडिएको प्रश्न हो भन्ने लाग्छ।”
ओलीले विगतमा पार्टीभित्रको अवस्थाले काम गर्न नपाएको बताउने गरेको प्रसङ्गमा पनि उहाँले असहमति जनाउनुभयो।
शपथ
प्रधानमन्त्रीले गत मङ्गलवार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका थिए
माओवादी नेता प्रचण्डको प्रश्न थियो, “पार्टीको भित्रको कुरालाई लिएर संसद् भङ्ग गर्न मिल्छ र ?”
पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रधानमन्त्री निवासमा ओलीले कुराकानी गरेको विषय पनि झिक्नुभएको थियो।
“राष्ट्रवाद र राष्ट्रियता के भयो सबै जनतालाई थाहा छ, मध्यरातमा कोसँगको वार्तापछि कहाँबाट राजनीति कता लग्न खोजियो भन्ने कुरा नेपाली जनताले नहेरेर बसेको छ र ?” उहाँले भन्नुभयो ।
राष्ट्रपतिमाथि प्रचण्ड-प्रश्न
प्रचण्डले आफ्नो धारणा राख्ने क्रममा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभयो ।
देउवाको पक्षमा १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति समक्ष दाबी पेश गरेको सन्दर्भ उहाँले प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा संविधानतः राष्ट्रपतिले कुनै बहाना गर्न सक्ने अवस्था नरहेको बताएको उहाँले सुनाउनुभयो।
जेठ ७ गते धारा ७६(५) अन्तरगतको सरकारको दावी पेश गर्दा त्यसबेला विपक्षी गठबन्धनका तर्फबाट १ सय ४९ सांसदहरुको हस्ताक्षरसहित दावी पेश गर्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई नियुक्त गरेर विश्वासको मतको निम्ति सदनमा पठाइ दिन आग्रह गरिएको प्रसंग पनि उहाँले निकाल्नुभएको थियो ।
राष्ट्रपतिलाई भनेको कुरा उद्धृत गर्दै प्रचण्डले भन्नुभयो, “तपाईँले १ सय ४९ जनाको सनाखत गर्न चाहनुहुन्छ भने हामी जीवित सजीव उपस्थिति हुन पनि तयार छौँ।”
तर “आफूले राष्ट्रपतिमाथि विश्वास गरे पनि” त्यसो नभएकोमा उहाँले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभएको थियो।(स्रोतःबीबीसी)


















