Prakash Adhikari July 22, 2021

काठमाडौं, ७ साउन । सरकारले लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्ने तयारी थालेको छ ।

मन्त्रिपरिषदले सुरक्षा सावधानी अपनाएर लामो तथा मध्यम दूूरीका सार्वजनिक यात्रु सवारी साधन सञ्चालन गर्न उपयुक्त व्यवस्था गर्न गृहमन्त्रालयलाई जिम्मा दिएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई यातायात सञ्चालन गर्ने आदेश दिएको छ।

लामो तथा मध्यम दूरीका यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रिपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले यही साउन ५ गते सबै जिल्ला प्रशासनलाई आदेश दिएको हो।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विश्वविद्यालय, लोकसेवा आयोग र उच्चमाध्यमिक शिक्षा परिषद्बाट सञ्चालन हुने सबै परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताउनुभयो।

उहाँका अनुसार यस सन्दर्भमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ।

मन्त्रालयले बुधबार सबै जिल्लाका लागि पत्र समेत जारी गरेको छ।

मन्त्रालयले पठाएो पत्रमा , ‘त्रिवि, लोकसेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले परीक्षाको आवागमन समेतलाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण हुन आदेशानुसार अनुरोध छ।’ भन्ने उल्लेख गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको दोस्रो लहरको प्रभाव बढ्दै गएपछि सरकारले वैशाख १६ गतेबाट देशमा निषेधाज्ञा जारी गरी लामो,मध्यम तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा रोक लगाएको थियो।

ब्यवसायीद्धारा भाडा समायोजन र खोपको माग

यसैबीच आज राजधानीमा यातायात व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै सवारी साधनसहितको र्‍याली निकालेकाछन्।

उनीहरुले विगत १० वर्षदेखि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थ र सवारी साधानका पार्टपूर्जासहित सबैको बजार भाउ बृद्धि भएको भन्दै भाडा समायोजनको मुद्दा उठाएका हुन् ।

व्यवसायीले २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवानामा छुट लगायतका माग राखेका छन् ।

 

Share Now

Leave a comment.