Prakash Adhikari July 22, 2021

काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको सूचना प्रविधि र बैंकिड. प्रणाली सुरक्षित रहेको जनाएको छ ।

अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले बिहिबार यस्तो स्पष्टीकरण दिएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र आफूले नियमन गर्ने नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको बताउनुभएको छ ।
‘अपरिचत व्यक्तिबाट फोन र इमेल आयो, त्यसपछि हामीले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गर्यौं, सबै ठिक पाएका छौं,’ गभर्नर अधिकारीले भन्नुभयो,बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई दिएका छन ।

तर गभर्नरले यस्ता धम्कीहरुबाट सचेत रहन पर्ने तर बिचलित हुन नहुने पनि बताउनुभयो ।

केही ह्याकरहरुले नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा निकालिदिने भन्दै बुधबार बेलुकी धम्कीयक्त पत्र संबन्धित अधिकारीहरुको जीमेलमा पठाएका थिए ।

ती अपरिचत व्यक्तिहरुले फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायणप्रसाद पोख्रेललाई धम्की दिएको राष्ट्र बैंकले जनाएको छ ।

बुधबार साँझ अपरिचत व्यक्तिबाट ह्याक गर्ने धम्कीसहित जिमेलमा इमेल आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पनि बताउनुभएको छ । ‘

मलाई बुधबार साँझ जिमेलमा एउटा इमेल आयो, उक्त इमेलमा नेपालका १५ बैंकहरु ह्याक गर्ने धम्की उल्लेख छ,’ नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले भन्नुभयो, उस्तै व्यहोराको इमेल नेपाल राष्ट्र बैंकका अधिकारीलाई पनि आएको जानकारी मैले पाएको छु ।

अपरिचित इमेलबाट आएको धम्कीपछि बैंकको प्राविधिक पक्षको रिभ्यू गरिरहेको र हालसम्म कुनै समस्या नोटिस नभएको प्रमुख कार्यकारी अधिकृत शाहले बताउनुभएको छ ।

धम्कीबारे नियमन निकाय र सम्बन्धित सबैलाई जानकारी गराइएको भन्दै प्रमुख कार्यकारी अधिकृत शाहले चोरले पहिल्यै घोषणा गरेर चोरी नगर्ने भन्दै यस्ता सूचनासंंग सचेत हुनुपर्ने बताउनुभयो । ‘कुनै टोलमा चोरले म आज राति चोर्छु भन्यो भने टोलवासी टोलै छोडेर भाग्नु भन्दा पनि सतर्क रहनु पर्छ,’ नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले भन्नुभयो।

ह्याकरहरुले नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सूचना प्रविधि र बैंकिड. प्रणाली ह्याक गरेर पैसा निकाल्ने धम्की दिएका छन्।

अपरिचत इमेलमा २४ घण्टाभित्र ती केन्द्रीय बैंकसहित १४ बाणिज्य बैंकहरुको प्रणाली ह्याक गर्ने धम्की दिइएको छ ।

 

Share Now

Leave a comment.