नारायण कार्की
पोखरा (कास्की), २० साउन (बीबीसी) । डेढ महिनाभन्दा बढी समयदेखि सडक सम्पर्कबाट विच्छेद भएको हिमालपारिको जिल्ला मनाङका १८ वर्ष माथिका ‘सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको’ त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ।
जताततै खोपको माग भइरहेको समयमा मुलुकका ७७ जिल्लामध्ये मनाङ १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाउने पहिलो जिल्ला बनेको छ।
लगत्तै हिमालपारिको अर्को जिल्ला मुस्ताङमा पनि सबै योग्य सर्वसाधारणले कोभिडविरुद्धको खोप प्राप्त गरेको अधिकारीहरूको भनाइ छ।
गत असार १ गतेबाट सुरु भएको वर्षा र बाढीले सडक सञ्जालबाट मनाङलाई अलग बनाए पनि हेलिकप्टरबाट ढुवानी गरेर खोप लगाउन योग्य सबै ४ हजार १ सय ९८ नागरिकलाई खोप दिइएको जानकारी स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले दिनुभयो ।
कति छ मनाङको जनसङ्ख्या ?
मनाङको कुल जनसङ्ख्या ६ हजार २ सय छ।
खोप लगाउन योग्य ४ हजार ५ सय अनुमान गरिएकोमा केही जिल्लाबाहिर भएका कारण छुटेको बताइएको छ।

मनाङमा खोप बोकेर जाँदै गरेका एक पुरुष
बाढीपीडितलाई राहत लिएर गएको हेलिकप्टरमा खोप मगाइएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले जानकारी दिए।
मनाङका चारवटै गाउँपालिकाका २८ वटा वडामा खोप केन्द्रको व्यवस्था गरिएको अधिकारीहरूको भनाइ छ।
सबैभन्दा पहिले उक्त जिल्लामा पुगेको कोभिशील्ड खोप २ हजार ९६ जना, जोनसन एन्ड जोनसन खोप २ हजार २७ जना र भेरो सेल ७५ जनाले लगाएको तथ्याङ्क छ ।
जनसङ्ख्या १३ हजारको हाराहारीमा रहेको बताइएको मुस्ताङ जिल्लामा १८ वर्षभन्दा माथिका ९ हजार ३ सय सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिनुभयो।
मुस्ताङमा सडकमार्गबाटै खोप पुर्याइएको उनको भनाइ छ।
त्यहाँ मङ्गलवारसम्म ६ हजार ७ सय २१ जनाले जोनसन एन्ड जोनसन खोप , २ हजार ४ सय ७४ जनाले कोभिशील्ड अनि ३ सय २१ जनाले भेरो सेल खोपको दुवै मात्रा लगाएको उहााले जानकारी दिनुभयो।
‘खोप पुग्यो अब यहाँ’, उहाँले भन्नुभयो।
खोप भण्डारण चुनौतीपूर्ण
खोप ढुवानीजत्तिकै बाढी र पहिरोले विद्युत् सम्पर्कविच्छेद भएका कारण मनाङमा खोपको सुरक्षित भण्डारण चुनौतीपूर्ण रहेको बताएको छ।

खोप केन्द्र मनाङ
खोपको कसरी सुरक्षित व्यवस्थापन गरियो त भन्ने जिज्ञासामा स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्य भन्नुहुन्छ, “एकदम कठिन कार्य थियो। जेनरेटर र सौर्य ऊर्जा विकल्पका रूपमा प्रयोग गरियो। घाम नलागेर आवश्यक चिसोपन कायम राख्न कठिन भएको अवस्थामा पोखरामा रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट जेनरेटरका लागि तेल र आइसप्याक हेलिकप्टरबाट मगाएर पनि खोपलाई सुरक्षित राख्यौँ।”
दुवै जिल्लामा प्रयोगमा ल्याइएका तीनवटै खोप २ देखि ८ डिग्री सेल्सीअस तापमानमा भण्डारण गर्नुपर्ने खालका थिए।
मनाङ जिल्ला अस्पतालका डा. दुर्गा मिश्रले हिजोआज अस्पतालमा कोभिड -१९ का कुनै पनि बिरामी नभएका र फाटफुट रूपमा देखिएका सङ्क्रमितहरू पनि घरमै आइसोलेशनमा बसेको जानकारी दिनुभयो।
मुस्ताङमा अहिले २५ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको र सबैले खोप प्राप्त गरेसँगै अबका दिनमा समस्या नहुने अपेक्षा गरिएको बताइएको छ।


















