काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व निर्धारित समय तालिका अनुसार पार्टीको अधिवेशनका कार्यक्रमहरु आरम्भ हुन नसकेकोमा चरम असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
उहाँले सोमबार सामाजिक सञ्चालको फेसबुक पेजमा एक स्टाटस लेख्दै भन्नुभएको छ, “पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?”
वरिष्ठ नेता पौडेलको असन्तुष्टि पार्टी सञ्चालनमा मात्र सीमित रहेन । उहाँले राज्य सञ्चालनको शीर्ष तहमा पनि इमान्दार व्यक्तिहरु पुग्न र टिक्न नदिएकोमा पनि आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ,”यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”
उहाँको यो अभिव्यक्ति आफ्नै पार्टी सभापति शेरबहादुर देउवा र पटकपटक प्रधानमन्त्री बनेका नेपाली नेताहरुप्रति लक्षित भएको कांग्रेस कार्यकर्ताहरु बताउछन् ।


















