काबुल(अफगानिस्तान), १ भाद्र(बीबीसी) । तालिबानका एक प्रवक्ताले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बीबीसीलाई बताएका छन्।
देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।
उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए।
अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो।
के भन्छ तालिबान ?
तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो।
अहिले पुनः सत्तानजिक पुगेको बेला उक्त लडाकु समूहले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ।
तालिबान नेतृत्वले अफगान नागरिकहरूलाई केही नगर्न फेरि आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ।

तालिबान नेताहरू : काबुल नियन्त्रणमा लिइसकेपछि तालिबानले एउटा भिडिओ सार्वजनिक गरेको थियो
यसअघि दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग ‘प्रतिशोध’ नलिने बताउनुभएको थियो ।
“हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ ‘, बीबीसीका याल्दा हकिमसँग सुहैल शाहीनले भन्नुभएको थियो।
तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ।
पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो।
काबुलको स्थिति
काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने सयौँ सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्।
तालिबान लडाकुहरू काबुल छिरेपछि ठूलो सङ्ख्यामा मानिसहरूले अन्यत्र जाने प्रयास गरेका हुन्।
साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।
अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको बताएको छ। अमेरिकी सैनिकहरूले उक्त विमानस्थलको परिधिलाई सुरक्षा दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी र उसका साझेदार देशहरूले काबुलबाट आफ्ना कर्मचारी अन्यत्र लग्न थालेको भए पनि रुस र चीनले भने आफ्ना दूतावास बन्द नगर्ने जनाएका छन्।
सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
समाचारसंस्था रोएटर्सले हताहत हुनेको सङ्ख्या बढी भएको जनाएको छ।
दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको ‘अनियन्त्रित’ भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।
Kabul's international airport was one of the last places in the Afghan capital on Monday not controlled by the Taliban. The U.S. State Department said all its embassy personnel had been evacuated to the airport, which is defended by the U.S. military. https://t.co/ZHiF97E2HD pic.twitter.com/c0NmF7NrIl
— The New York Times (@nytimes) August 16, 2021
अरू ठाउँमा के हुँदैछ ?
सोमवार एउटा विज्ञप्ति जारी गर्दै तालिबानले कान्दहार विमानस्थलमा अफगान सुरक्षाकर्मीबाट भएको प्रतिरोध अन्त्य भएको जनाएको छ।
हजारौँ सुरक्षाकर्मीले आफूसमक्ष आत्मसमर्पण गरेको तालिबानको दाबी छ।
ती सुरक्षाकर्मीलाई तालिबान लडाकुहरूले तीन दिनदेखि घेराबन्दी गरेर राखेका थिए।
कान्दहार दक्षिण अफगानिस्तानमा अवस्थित देशको दोस्रो ठूलो सहर हो।
भावि नेतृत्वको चर्चा
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवन समेत कब्जा गरेपश्चात् अब उनीहरूका कुन कुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन्।
यो प्रश्नको जबाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन् ः हिबतुल्लाह अखुन्दजादा र मुल्लाह अब्दुल गनी बरादर।
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुनुनुहुन्छ उहाँले सन् १९९४ मा तालिबानको गठन गर्नुभएको थियो।
सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उहाँ विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बन्नुभयो ।
सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उहाँलाई कराची सहरबाट पक्राउ गरिएको थियो।

मुल्लाह बरादर
सन् २०१२ सम्म उहाँका बारे धेरै जानकारी उपलब्ध थिएन।
त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उहाँको नाम प्रमुख रूपमा हुने गर्थ्यो।
सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो।
उहाँ तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उहाँका निकट सहयोगी हुनुहुन्थ्यो। पक्राउ पर्दा उहाँ तालिबानका दोस्रो सबभन्दा ठूला नेता हुनुहुन्थ्यो।
सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उहाँलाई खटाइयो। उहाँले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहनुभयो।
इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उहाँ दुर्रानी समुदायका भएको ठानिन्छ।
अर्का नेता हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुनुहुन्छ ।कान्दहारबाट आउनुभएका उहाँ इस्लाम धर्मका विद्वान हुनुहुन्छ ।

हिबातुल्लाह अखुन्दजादा
उहाँले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्याएको ठानिन्छ।
तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उहाँले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ।
सन् १९८० को दशकमा उहाँले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेल्नुभएको थियो।
तर उहाँको पहिचान एक सैन्य कमाण्डरको रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ।
अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उहाँ तालिबानका शीर्ष नेताहरूमध्ये रहनुभएको थियो। धर्मसँग जोडिएका आदेशहरू उहाँले नै दिने गर्नुहुन्थ्यो।
उहाँले नै दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिनुहुन्थ्यो।
हिबतुल्लाह तालिबानका पूर्व प्रमुख मोहम्मद मन्सुरका उपप्रमुख हुनुहुन्थ्यो ।
सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो।
मन्सुरले आफ्नो इच्छापत्रमा हिबतुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गर्नुभएको थियो।
करिब ६० वर्षका हिबतुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताउनुभएको छ।
हिबतुल्लाहको नामको अर्थ हुन्छः “अल्लाहको तर्फबाट प्राप्त उपहार” । उहाँ नुरजाई समुदायबाट आउनुभएको हो ।
तालिबानको संगठन संरचना

तालिबानको वर्तमान नेतृत्व संरचनामा हिबतुल्लाह अखुन्दजादा शीर्ष स्थानमा हुनुहुन्छ र उहाँ राजनीतिक, धार्मिक तथा सैन्य मामिलाका प्रमुख रहनुभएको छ।
राजनीतिक मामिला हेर्ने उनका उपप्रमुख मुल्लाह गनी बरादर हुनुहुन्छ
सैन्य मामिला हेर्ने उपप्रमुख चाहिँ पूर्व तालिबान प्रमुख तथा संस्थापक नेता मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब हुनुहुन्छ ।
हक्कानी सञ्जालका प्रमुख समेत रहेका सिराजुद्दिन हक्कानी पनि हिबतुल्लाहका अर्का उपप्रमुख हुनुहुन्छ ।
मुल्लाह अब्दुल हकीम तालिबानका वरिष्ठ न्यायाधीश हुनुहुन्छ उहाँले तालिबानको न्यायिक संरचनाको अगुवाइ गर्नुहुन्छ ।
तालिबानको एउटा नेतृत्व परिषदपनि रहेको छ।
२६ सदस्य रहेको रहबारी शुरालाई तालिबानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ।
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
- एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
- मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
- जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
- २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
- ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी

- १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
- १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
- १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश


तस्बिर स्रोत,BC
के हो तालिबान ?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।
न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल(कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।
तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्यो।


















