काठमाडौँ, ६ भदौ (रासस) । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।
पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ । पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वर्ष पनि भीड लागेको थियो ।
क्वाँटीको परम्परा
जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वर्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि बिदा दिइएको बताइएको छ ।
सर्वेश्वर महादेवको पूजा
ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई अघिल्लो रातभर बाहिरको पोखरीमा राखियो ।
प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।
सर्वेश्वर महादेवलाई विभिन्नथरिका बाजागाजासहित कुम्भेश्वर महादेव मन्दिरको परिक्रमा गराइ नजिकैको पोखरीमा राखेर उत्तरपश्चिमतर्फको गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका पुजारी माधवश्याम शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महादेव मूर्तिलाई रातभरि पोखरी भित्र खटमा राखेर आइतबार बिहान ६ बजे कुम्भेश्वर मन्दिरभित्र पुनःछिराउने छाँै । चल्दै आएको नियमानुसार भोलि दिनभरि शिवजीलाई बाहिर राखिनुपर्ने थियो तर मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी पूरै दिन नराख्ने भयौँ ।” गत वर्ष पनि यसैगरी विधिमात्र पूरा गरेकाले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने भएको पुजारी शर्माले जानकारी गराउनुभयो ।
शनिबारदेखि नै मन्दिरको सुरक्षा व्यवस्था कडा पार्नुका साथै आइतबार पनि केही टोलवासी अनि समितिका मानिस र पुजारी मात्रै मन्दिरभित्र छिर्न पाउने कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनानुदिन बढेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मन्दिरको मूल ढोका बन्द रहने हुँदा कुम्भेश्वर पोखरीमा भक्तजनलाई मेला भर्न प्रवेशमा रोक लगाउने भएकाले नआउन अनुरोध गर्दछु ।” गोसाइँकुण्डमा साउन महिनाभर मेला लाग्ने भएकाले उता जान नसक्नेले कुम्भेश्वरमा जलाभिषेक वा स्नान गरी शिवको आरधना गर्दा गोसाइँकुण्ड गएको फल प्राप्त हुने मान्यता रहेको अध्यक्ष खड्गीले जानकारी गराउनुभयो ।
गौरीकुण्डको जल कुम्भेश्वर पोखरीमा भर्न बुधबार नै सफा गराएर तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष वसन्त खड्गीले जानकारी गराउनुभयो । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति भएकाले कुम्भेश्वर महादेव भनिएको हो । सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सर्वेश्वरको आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीमा छ । सर्वेश्वरलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मन्दिर जीर्णाेद्वार समन्वय समितिका सल्लाहकार प्रेमलाल महर्जनले बताउनुभयो ।
स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ ।
सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटन राजा जयस्थिति मल्लले १४ आँै शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए । त्यसैगरी सो महादेव मन्दिरको काखमा रहेकी बङ्गलामुखी देवीलाई १० महाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको पुजारी शर्माले बताउनुभयो ।
–––


















