काबुल(अफगानिस्तान), ८ भाद्र । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताउनुभएको छ।
मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले ुती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिनेु बताउनुभयो।
जबिहुल्लाह मुजाहिदले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाउन पनि बिर्सनुभएन।
अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिद बोल्नुभएको हो।
प्रवक्ताको थप भनाइ
अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ।
तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिद
तर तालिबान प्रवक्ता मुजाहिदले भन्नुभयो “हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस्.. हामीलाई उनीहरूको कौशल आवश्यक छ।”
यसै महिनाभित्र सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान प्रवक्ताको भनाइ थियो।
विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न तालिबान प्रवक्ताको आग्रह थियो।
महिलाहरूलाई काममा जानका लागि स्थायी रूपमा रोक नलगाइने बताएका जबिहुल्लाह मुजाहिदले भने, “हाललाई कुनै खराब व्यवहार नहोस् भन्नका लागि … त्यो उनीहरूकै हितमा छ।”
उहाँले अफगान सञ्चारमाध्यम, अस्पताल, शैक्षिक संस्था र स्थानीय सरकारहरूले पुनः काम गर्न थालेको बताउनुभयो।
प्रतिशोध लिन कसैलाई निसानामा नराखिएको र कुनै सूची नभएको बताउँदै उहाँले विगतका सबै कुरा बिर्सिइएको बताउनुभयो।
भयानक दुर्व्यवहार
तर राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालीन बैठकमा बोल्दै मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याच्लेटले तालिबानबाट नियन्त्रित क्षेत्रहरूमा दुर्व्यवहारहरू भएका भयानक र विश्वासिला विवरण प्राप्त भएको बताएकी छन्।
जेनेभामा राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को एउटा आपत्कालिन बैठकमा बोल्दै ब्याच्लेटले सदस्य देशहरूलाई एउटा आह्वान गर्दै अफ्गानिस्तानलाई निगरानी गर्न एउटा प्रतिबद्ध निकाय खडा गर्न भन्नुभएको छ।
ब्याचेटले भन्नुभयो, “आधारभूत रेड लाइन भनेको तालिबानले महिला तथा किशोरीहरूलाई कसरी व्यवहार गर्छ भन्ने हो।”
उहाँले अफगानिस्तानमा हत्या, बाल सैन्यको भर्ती, महिलाहरूमाथि विभेद र शान्तिपूर्ण प्रदर्शनमाथि दबाव सिर्जना गरिएको बताउनुभयो।
पश्चिमा राष्ट्रहरुले भने, ‘सबैलाई उद्धार गर्न असंभव’

यसैबीच अफगानिस्तानमा शान्ति स्थापना गर्न अमेरिकी नेतृत्वमा सामेल भएका नेटो गठबन्धनमा आबद्ध राष्ट्रहरुले पनि बाहिर जान इच्छुक सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताउनुभएको छ ।
स्पेनले आफ्नो देशको मिशन र आफ्नो सरकारसँग काम गरेका सबै अफगान नागरिकको अफगानिस्तानबाट उद्धार गर्न नसकिने बताएको छ।
त्यसका लागि स्थलमा विद्यमान नाटकीय घटनाक्रमलाई जिम्मेवार ठहर्याइएको छ।
“हामीले सकेसम्म जति धेरै मानिसको उद्धार गर्न सकिन्छ त्यो गर्छौँ, तर हामीसँग असम्बन्धित कारणहरूले गर्दा त्यहाँ मानिसहरू छुट्नेछन्”, स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले एउटा रेडिओ अन्तर्वार्तामा भन्नुभएको छ।
उहाँका ब्रिटिश समकक्षी बेन वालेसले पनि यसअघि त्यस्तै सावधानीपूर्ण सन्देश दिनुभएको थियो।
तालिबानसँग सहमति भएको अगस्ट ३१ को समयसीमा अघि सबैलाई उद्धार गर्न नसकिने उहाँको भनाइ थियो।
ब्रिटेनका रक्षामन्त्रीका अनुसार आगामी अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट मानिसहरूलाई उद्धार गरिसक्ने भनी निर्धारण गरिएको समयसीमा लम्बिने सम्भावना छैन।

काबुल विमानस्थलको द्वारमा पङ्तिबद्ध अफगानहरू
बीबीसी ब्रेकफास्ट कार्यक्रममा बोल्दै मन्त्री बेन वालेसले यूकेले अवश्य पनि थप समय चाहेको तर उक्त समयसीमापछि प्राप्त हुने प्रत्येक दिन नै ठूलो उपलब्धि हुने बताउनुभयो।
तर तालिबानले उक्त समयसीमा लम्बाउने कुनै पनि कदम अमेरिकासँग गरिएको सम्झौताविपरीत हुने बताएको छ।
अन्य देशहरूले अमेरिकालाई काबुलबाट सेना फिर्ता लैजाने समय लम्बाउन दबाव दिइरहेका छन्।
चीनद्वारा अमेरिकाको आलोचना
यसैबीच, चीनले अफगानिस्तानबाट बाहिरिने अमेरिकी निर्णयलाई वाशिङ्टनले स्वार्थी विदेशनीति प्राथमिकता अपनाएको भन्दै आलोचना गरेको छ।
उसले अमेरिकाले आफ्नो ूडर धम्कीपूर्ण र आफैँ सर्वेसर्वा हुँ भन्ने व्यवहारू लाई ढाकछोप गर्न मात्र नियममा आधारित विश्व व्यवस्थाको रटान लगाउने गरेको आरोप लगाएको छ।
एउटा पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भन्नुभयो, “अमेरिकाले मनलाग्दी ढङ्गले एक सार्वभौमसत्ता सम्पन्न देशमा सैनिक अतिक्रमण गर्यो र अब उक्त देशका जनताले भोग्नुपरेका समस्याहरूप्रति उस्ले आफूलाई जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको ठान्दैन।”
“अमेरिकाले स्वेच्छाचारी रूपमा अन्य देशलाई बदनाम गर्ने, दमन गर्ने, डर देखाउने र धम्काउने गर्न सक्छ र उसलाई त्यसको मूल्य पनि चुकाउनुपर्दैन”, प्रवक्ता वाङ्गले भन्नुभयो।
विज्ञहरूका अनुसार अफगानिस्तानबाट भएको अमेरिकी सेनाको बहिर्गमनलाई चीनले एशियाली जनताका मनमा अमेरिकालाई विश्वास गर्न नसकिने भन्ने खालको छाप पार्ने सुनौलो अवसरको रूपमा लिएको छ।
यसैबीच जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को बैठकमा बोल्दै चीनले अफगानिस्तानमा तिनका सैनिकहरूले गरेका मानव अधिकार उल्लङ्घनका लागिू अमेरिका, यूके र अन्य देशलाई उत्तरदायी बनाइनुपर्ने माग समेत गरेको छ।
अफगानिस्तानमा तालिबानले द्रुत गतिमा सत्ता कब्जा गरेको अवस्थाले त्यहाँका नागरिक र विश्वका अन्य धेरैलाई अचम्भीत तुल्याइदिएको छ। अमेरिका र तालिबानबीच भएको एक सहमतिपछि विदेशी सैन्यले त्यहाँबाट बाहिरिने घोषणा गरेलगत्तै पछिल्लो घटनाक्रम विकसित भएको हो।
सन् २००१ मा ती उग्रवादीहरूलाई अमेरिकी नेतृत्वको गठबन्धन सैन्यले सत्ताबाट हटाएको २० वर्षपछि उनीहरूले फेरि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका छन्।
तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
- एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
- मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
- जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
- २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
- ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
- १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
- १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
- १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश


















