Prakash Adhikari August 26, 2021

काठमाडौं, १० भाद्र (बीबीसी) । गत साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिकाका जयसिंह धामीे मालघाटबाट तुइन तरेर भारतीय भूमितिर जादैं गर्दा किनारतिर पुग्ने बेलैमा भारतीय सीमा सुरक्षा बलका जवानले डोरी खुस्काइदिए पछि महाकालीमा खसेर वेपत्ता भएको घटनाको छानबिन प्रतिवेदन अझै तयार भएको छैन।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन।

सहसचिव गौतमका अनुसार प्रक्रिया नै लामो छ त्यसैले आज या भोलि नै निष्कर्षमा पुगिन्छ भन्ने अवस्था छैन।

“छलफल जारी छ। अध्ययन अनुसन्धान गर्दै जाँदा नयाँ तथ्य फेला पर्छ। त्यसलाई दार्चुलाको जिल्ला प्रहरी या जिल्ला प्रशासनमार्फत पुनः पुष्टि गर्नुपर्छ।”, सहसचिव गौतमले भन्नुभयो ।

सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा दश दिनमा प्रतिवेदन तयार पार्ने गरी ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

साउन २५ गते समितिले प्रतिवेदन तयार पार्नका लागि थप एक साता मागेको थियो।

त्यसपछि दोस्रोपटक थपिएको म्याद भदौ ७ गते पूरा भइसकेको छ।

घटनाबारे बुझ्न उच्च सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका थिए।

राष्ट्रिय सभा, प्रतिनिधि सभामा घटनाबारे जानकारी गराइएको थियो।

सरकारको मौनता

महाकालीमा खसेर जयसिंह बेपत्ता भएपछि कल्याण धामी लगायत अन्य प्रत्यक्षदर्शीहरूले दुर्घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता बारे सङ्केत गर्नुभएको थियो।

तर छानबिन टोलीले सम्पर्क गर्दा एसएसबीले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्य। घटना भएको २५ दिन बिोत्यो तर नेपाल सरकारले यस विषयमा केही पनि बोलेको छैन।

सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदा समेत आधिकारिक धारणा सार्वजनिक नगर्नुको कारण छानबिन समिति निष्कर्षमा पुग्न ढिलाइ हुनुतर्फ देखाइरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतिवेदन नआएसम्म सरकारले हचुवामा बोल्न नमिल्ने तर्क दिनुभएको छ।

महाकाली नदी

महाकाली नदी

उहाँले बीबीसीसँग भन्नुभएको छ, “पर्खिम्। कि प्रतिवेदन आउँछ कि मिति थप हुन्छ। त्यतिन्जेल यस विषयमा सरकारले केही भन्न मिल्दैन।”

छानबिन समितिका दुई सदस्य बिदामा रहेका कारण काम गर्न नसकेको गौतमले बताउनुभयो।

अनुसन्धान अवधि चल्दै गर्दा समितिकी सदस्य एवं दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी पारिवारिक कारण दिल्ली पुग्नुभएको बताइन्छ।

त्यस्तै अर्का सदस्य डीआइजी पुरुषोत्तम कँडेल पनि बिदा लिएर काठमाडौँ आउनुभएको बताइएको छ।

प्रत्यक्षदर्शीको शब्दमा जयसिंह धामी महाकालीमा खस्दाको क्षण

विगत दुई दशकयता कल्याण धामी तुइनमार्फत मानिसहरूलाई निरन्तर महाकाली वारपार गराइराख्नुभएको छ।

उहाँले गत साउन १५ गते पहिलो पटक अकल्पनीय घटना घटेको बताउनुभयो।

“अरूले टाँगेको तुइनबाट निकै मान्छे महाकालीमा खसे। मेरोबाट कोही खसेर मरेका थिएनन्। पहिलो पटक आँखै अगाडि आफ्नै तुइन र तारसँग मान्छे खसेको देख्नुपर्‍यो।”,  उहाँले भन्नुभयो ।

त्यस दिन बिहान साढे सात बजेसम्ममा कल्याणले ४ जना मानिसलाई पारी तारिसक्नुभएको थियो।

त्यसको केही बेरमा थप तीन जना झोलासहित आए । उनीहरूले राम्रो देशबाट भिसा आए विदेश जाने योजनासहित काठमाडौं हिँडेको सुनाएका थिए। तीमध्ये एक थिए जयसिंह धामी।

तर, उनीहरू पारी पुग्नु अघि नै भारतीय क्षेत्रमा एसएसबीका दुई जना महाकालीतर्फ ओरालो लाग्दै गरेको देखिए।

“उनीहरूलाई देखेपछि जयसिंह ‘कुरा मिलाउँछु भन्दै’ तुइनमा चढे। साथीहरू र सामान नेपालमै थियो। उनी जाँदाजाँदै एसएसबीका एक जनाले पारी रुखमा बाँधेको तुइनको लट्ठा खुस्काइ दिए”, घटनाबारे कल्याणले भन्नुभयो,”किनारमा पुग्न करिब २ मिटर बाँकी हुँदा खुकुलो भएको तार लच्कियो। उर्लिएको महाकालीले कहाँ छोड्नु, तुइनलाई मान्छेसहित बगायो।”

नदी बढेकोले घटना लगत्तै उद्धार वा खोजी सम्भव नभएको कल्याणको दाबी छ।

छानबिनका लागि समिति गठन

तत्कालका लागि धामीको खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा परिचालन भए।

कल्याणलगायत अन्य प्रत्यक्षदर्शीको बयान विभिन्न माध्यममार्फत सार्वजनिक भए। उनीहरूले एसएसबीले तुइनको तार खोलिदिएकै कारण घटना भएको बताइरहँदा घटनाबारे अनुसन्धान अघि बढाइयो।

नेपालको नक्सा

नेपालको नक्सा

नेपालले गत वर्ष लिम्पियाधुरा र लिपुलेक र कालापानी क्षेत्रलाई समेट्नेगरी नक्सा अद्यावधिक गरेको थियो

घटना भएकै दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढ जिल्ला अधिकारीलाई घटनाबारे अनुसन्धानका लागि आग्रहसहित पत्र पठाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो।

ू”जवाफ भोलिपल्ट मात्र आयो”, जोशीले भन्नुभयो,”भारततर्फबाट अनुसन्धानका लागि सहयोग पाएनौँ। बेपत्ता भएका उनको खोजी गर्न भारततर्फ ड्रोन उडाउने अनुमति मागेका थियौँ। त्यो पनि दिइएन।”

न्यायको पर्खाइमा परिवार

जयसिंह धामीको परिवार भने न्यायको पर्खाइमा रहेको बताउँछन्। वृद्ध आमाबुवा र श्रीमती शोककै कारण खान, हिँडडुल गर्न र मानिसहरूसँग बोल्न नसक्ने स्थितिमा रहेको उहाँका भाइ नरेन्द्र धामीले बताउनुभयो ।

दुई सन्तानलाई भने बुवालाई के भयो भन्नेसमेत पत्तो नभएको नरेन्द्रले सुनाउनुभयो। छोरी डेढ वर्षकी मात्र भइन्। ५ वर्षीय छोरालाई आफू विदेश जाने र टन्न मिठाइ र खेल्ने कुरा ल्याइदिने बताएर हिड्नुभएको थियो रे जयसिंह।

जयसिंह धामीकी पत्नी

जयसिंह धामीकी पत्नी

जयसिंहका भाइ नरेन्द्र भन्नुहुन्छ ,”सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिइयोस्। न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो ! किन ढिला भइरहेको छ ?”

आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप केही रकम पाएको भए पनि त्योभन्दा महत्त्वपूर्ण न्याय नै भएको उहाँ बताउनुहुन्छ।

“एसएसबीले दाइ बित्नुभन्दा एक साता अघि मात्र मलाई पनि झापड लगाएको थियो। भतिजीहरूको भर्ना गराउन दार्चुला जाँदै थिएँ। सोधपुछ गरे। लकडाउनमा कहाँ स्कूल भर्ना हुन्छ ? भन्दै कुटेका थिए”, उहाँले भन्नुभयो, “कुटाइ पिटाइ त सामान्य भइसक्यो हाम्रा लागि। तर तुइन खुस्काइदिनेलाई आज कारबाही नभए भोलि अर्को तुइन खोल्न हिँड्छन्। भोलि अर्को जयसिंह धामीलाई महाकालीले लान्छ।”

के गर्नुहुन्थ्यो जयसिंह धामी ?

जयसिंह धामी नेपाली सेनामा भर्ती हुनुभएको थियो। सेनाको जागिरबाट आउने तलबले घर चलाउन धौधौ परेपछि उहाँले विदेश जाने निधो गर्नुभयो। दुबई गएर, दुई वर्ष दुई महिना बसेर २०७६ को सुरुतिर उहाँ नेपाल फर्किनुभयो।

अलि राम्रो कम्पनीको अवसर पाए फेरि पनि दुबई नै जाने उहाँको योजना थियो । प्रक्रिया पुर्‍याएर फेरि जानुभयो। उता पुगेको केही दिनपछि कोरोना भाइरसको महामारी फैलिएको र नेपालमा लकडाउन भयो।

“दाइ विदेश गएपछि अलिअलि खर्च पठाइहाल्छ भन्ने थियो। तर उता उसको बिजोग भएछ। उल्टै नेपालबाट खर्च पठाउनु पर्ने स्थिति आयो”, नरेन्द्रले सुनाउनुभयो,”चार महिना बसेर स्वदेश नै फर्किए।”

जयसिंह धामी

जयसिंह धामी

३३ वर्षीय जयसिंह धामी केही महिना काठमाडौँ, चाबहिलस्थित एक बैङ्कमा सुरक्षाकर्मीका रूपमा खटिनुभएको थियो। मासिक दश हजार पनि जोगाउन मुस्किल भएपछि उहाँले फेरि विदेश नै जाने योजना बनाउनुभएको हो।

दोस्रो लहरको सङ्क्रमण केही साम्य भयो। लकडाउन जारी भए पनि कामकाजका लागि सहर खुल्ला रहेको थाहा पाएपछि दुई जना साथीसँगै गाउँ छाड्ने तयारीमा हुनुहुन्थ्यो जयसिंह धामी । उहाँ राम्रो कम्पनीमा पठाउने म्यानपावरको खोजीमा लाग्नुभएको थियो।

विदेश जान भनेर हिँडेका जयसिंह कहाँ पुग्नुभयो पत्तो छैन। उहाँ फर्कने, नफर्कने टुङ्गो नभए पनि न्याय चाहिँ पाउनु पर्छ भन्ने भाइ नरेन्द्रको राय छ।

तुइन व्यवसाय के हो ?

कल्याण धामी मालघाटस्थित महाकाली नदी छेउमा बस्न थालेको २१ वर्ष हुन लाग्यो।

त्यहाँ उहाँ तुइनमार्फत मानिसलाई खोला तार्ने काम गर्नुहुन्छ।

गाउँमा रोजगारीको अरू अवसर नभएपछि तुइन जडान गरेको उहाँ बताउनुहुन्छ।

कल्याण लगायत केहीले व्यक्तिगत रूपमा सञ्चालन गरेको तुइनले व्यास गाउँपालिका वडा नम्बर २ स्थित मालघाटलाई गस्कुसँग जोडेको छ ।

तुइनमार्फत भारत, पिथौरागढ जिल्लाको पाँगलामा पुगिन्छ। त्यहाँबाट गाडी चढेपछि भारतको धार्चुला हुँदै नेपालको दार्चुला पुगिन्छ।

गाउँलेहरूले आफ्नै देशको दार्चुला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्ने कल्याण बताउँनुहुन्छ। प्रशासनसम्बन्धी काम गर्न होस या रासन पानी किन्न भारतीय बाटो नै छिटो हुने कल्याणको दाबी छ।

त्यसैले स्थानीयहरू केही रकम तिरेर तुइनको प्रयोग गर्छन्।

“छिटो भनेर के गर्ने भारतीय सीमा सुरक्षा बल(एसएसबी)को खटन सहनु पर्छ”, कल्याणले बीबीसीसँग भन्नुभयो,”कुटपिट, गाली र धम्की त सामान्य भइसक्यो। कहिलेकाहीँ महिना दिन पुग्ने गरी ल्याएको नुन तेल समेत महाकालीमा फ्याँकिदिन्छन्। के गर्ने उनीहरूको देशमा उभिएपछि सहनै पर्‍यो।”

 

Share Now

Leave a comment.