Prakash Adhikari September 2, 2021

सानेपा(ललितपुर), १७ भाद्र। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा आफ्नो समूहले एक मात्र उम्मेदवार उठाउने वरिष्ठ नेता रामचन्द्र पौडेल बताउनुभएको छ ।

वडा अधिवेशन प्रारम्भ हुने अघिल्लो दिन पार्टीको केन्द्रीय कार्यालय सानेपामा सो समूहका तर्फबाट सभापतिका आकांक्षीहरुको सामूहिक उपस्थितिमा पत्रकार सम्मेलन गरी नेता पौडेलले सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताउनुभएको हो ।

नेता पौडेलको नेतृत्वमा समेटिदै आएको यो समूहबाट उहाँका अतिरिक्त महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भावि सभापति उठ्ने बताउदै आउनुभएको छ तर औपचारिक घोषणा गर्नुभएको छैन् ।

पार्टी सभापति शेरबहादुर देउवाले यो पटक देश र पार्टीको अवस्थाले आफ्नो नेतृत्वको निरन्तरता खोजेको बताएपछि उहाँको साथमा रहदै आउनुभएका अत्यन्त निकटका विश्वासपात्र पार्टीका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापति उठ्ने घोषणा गर्दै धुमधामका साथ सम्पर्क कार्यालय पनि खोलिसक्नुभएको छ ।

युवा पुस्ताबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुड.ले पनि सभापतिको उम्मेद्वार बन्ने घोषणा गरिसक्नुभएको छ ।

समूहभित्र सभापतिका आकांक्षी बढी देखिएकोले एकमात्र उम्मेद्वार घोषणा गरी जाने भन्दै केही दिनदेखि पौडेलसमूहले निरन्तर प्रयास गरेपनि आज अपरान्हसम्म यसले सार्थकता पाउन सकेको छैन तर वरिष्ठ नेता पौडेलले भने आफूहरुबीच छलफल भइरहेकोले उम्मेवारीको घोषणा गर्ने दिनसम्म एक जनाको पक्षमा सहमतिको वातावरण बन्ने दावी गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’

पत्रकार सम्मेलनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएका युवा नेता गगन थापाको पनि उपस्थिति र सक्रियता देखिएकोले यो समूहबाट उहाँलाई नै महामन्त्रीको उम्मेदवार बनाइने हो कि भन्ने अडकल पनि गरेका छन् ।

तर सभापतिको आकांंक्षीहरुलाई समूहमा ब्यवस्थापन गर्दा महामन्त्रीको भाग उहाँका लागि सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी चै छैन ।

आजको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलका अतिरिक्त सभापतिका आकांक्षीहरु महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा.शेखर कोइरालाका साथै केन्द्रीय सदस्यहरु सुजाता कोइराला,अर्जुननरसिंह के.सी.,बलबहादुर के.सी लगायतको उपस्थिति थियो ।.

 

Share Now

Leave a comment.