काठमाडौँ, १७ भदौ । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ ।
तीन महिनाअघि मात्र उहाँमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले राससलाई जानकारी दिनुभयो । पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । श्रेष्ठको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।
विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।


















