काठमाडौं, १७ भाद्र । नेपाली कांग्रेसले १४ औं अधिवेशनको लागि जारी गरेको निर्वाचन निर्देशिका संशोधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले साबिकको निर्देशिका स्थानीय तहको निर्वाचन जतिको उदार नभएको र दलित तथा समावेशी समूहको अनिवार्य प्रतिनिधित्व गर्ने व्यवस्था नभएको भन्दै बुधबार केन्द्रीय सदस्यबाट राजिनामा दिनुभएको थियो ।
उहाँको बगावतपछि बिहिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा यसलाई संशोधन गर्ने निर्णयमा पुग्नुभयो र निर्वाचन निर्देशिका मस्यौदाकार डा.प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई संशोधन गरी मिलाउन निर्देशन दिनुभएपछि संशोधन गरी अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।
नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।
कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने आज निर्णय गरिएको हो ।
कांग्रेसले शुक्रबारदेखि प्रारम्भ हुन लागेको गाउँ÷नगर वडा अधिवेशनको पूर्वसन्ध्यामा सो व्यवस्था गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा आजको निर्णय गरिएको हो ।
कांग्रेस सभापति देउवाको प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताउनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन ।”
दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन/महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल दलित सङ्घले आज धर्नासमेत दिएको छ ।


















