Prakash Adhikari September 3, 2021

काठमाडौं,१८ भाद्र । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन सुरु हुँदैछ ।

हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय १ पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ ।

त्यस्तै देशभरका वडाबाट १ लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

Share Now

Leave a comment.