Prakash Adhikari September 29, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १३ असोज(बीबीसी) । गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २ हजार ५ सय जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलहरूले बताउनुभएको छ।

जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिएको गवाही राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ।

राष्ट्रपति बाइडनले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जनाउनुभएको थियो।

तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो।

अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताउनुभयो।

रक्षामन्त्री सहित दुईजना शीर्ष जनरलहरूलाई माथिल्लो सदन सिनेटको आर्मड सर्भीसेस कमिटीले मङ्गलवार सोधपुछ गरेको थियो।

सुझाव

अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गरेका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २ हजार ५ सय सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताउनुभएको थियो।

अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताउनुभएको थियो।

जनरल मिलीले त्यस्तो सुझावमा आफू सहमत भएको बताउनुभयो। तर उहाँलाई एकजना रिपब्लिकन सिनेटरले बाइडनको प्रतिक्रिया के ‘गलत बयान’ हो भनेर प्रश्न गर्दा भने उहाँले त्यसको सोझो उत्तर दिन मान्नुभएन।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले पछि उक्त विषयलाई सम्बोधन गर्नुभएको थियो।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले सेना लगायतको सल्लाहलाई महत्त्व दिन्छन्। तर त्यसको अर्थ यो होइन की उनले सधैँ त्योसँग सहमत हुन्छन्।’

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
  • सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणा
Share Now

Leave a comment.