कीर्तिपुर(काठमाडौं), १७ असोज । एभरेष्ट प्रिमियर टी २० क्रिकेट लिग अन्तरगत आज दुई खेल हुँदैछन्।
विहान ९ :३० बजे सुरु हुने दिनको पहिलो खेलमा करन केसी कप्तानीको बिराटनगर वारियर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स११ प्रतिस्पर्धा गर्नेछन्। बिराटनगर प्लेअफको यात्राबाट बाहिर परिसकेको टिम हो ।
यस्तै दिनको दोश्रो खेलमा दिउसो १ : ३० बजे सोमपाल कामी कप्तानीको चितवन टाइगर्स र कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।
लिगमा हालसम्म खेलेको ४ वटै खेलमा पराजित भएको बिराटनगर प्लेअफ रेसबाट बाहिर भैसके पनि बाँकी खेलमा जित निकालेर शून्य अंकको दाग मेटाउनु उसको लागि प्रतिष्ठाको विषय बनेको छ।
यता हालसम्म दुई खेल खेलेको काठमाडौँ शीर्ष दुईमा परेर प्लेअफ यात्रा तय गर्न बिराटनगरलाई पराजित गर्ने तयारीमा छ।
काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा चितवन टाइगर्ससंग ३ विकेटले पराजित भएको थियो।
अर्को खेलमा चितवन पनि शीर्ष २ को स्थान पक्का गर्ने तयारीमा छ । उसले यस पहिले ३ खेलमा बिराटनगर, काठमाडौँ र पोखरालाई पराजित गरेको थियो।
चितवनसंग प्रतिस्पर्धामा उत्रिने ललितपुर पनि बिराटनगर बिरुद्धको खेलमा देखाएको कौशल दोहोर्याउने धुनमा छ । लिगको अन्तिम खेल बाँकी रहदा मात्र ३ अंक बटुलेको ललितपुरलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ।


















