Prakash Adhikari October 5, 2021

काठमाडौं, १९ असोज। एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गतको आजको लागि तय भएको अन्तिम खेल मैदान भिजेर खेल्न नसकिने भएकोले रद्ध भएको छ । यसको लाभ सन्दीप लामिछानेले कप्तानी सम्हालिरहेको काठमाडौं किंग्स ११ लाई भएको छ ।

आज बिहान ९ :३० मा काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीच लिग चरणको अन्तिम खेल तय भएको थियो ।

खेल हुन नसकेपछि भैरहवासँग अंक बाँड्दै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्लेअफ पुगेको छ ।

साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाडौं समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

मैदान गिलो भएकोले खेल नभएपछि काठमाडौं र भैरहवाले १ १ अंक बाँडेका हुन ।

यसले पाँच खेलबाट तीन अंक जोडेको काठमाडौंलाई चौथो स्थान उचालेर प्लेअफको यात्रासम्म पुर्याएको छ। भैरहवालाई भने खेल नहुँदा घाटा लाग्यो । भैरहवा र पोखरा राइनोजको समान सात अंक रहेपनि भैरहवा रनरेटमा अघि थियो । तर लिग मा धेरै खेल जितेको आधारमा अंकतालिकामा अघि रहने प्रावधान रहेकोले पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।

पोखराले तीन खेल जित्दा एक खेलमा अंक बाँडेको थियो । भैरहवाले दुई खेल जित्दा तीन खेलमा अंक बाँडेको थियो ।

पोखरा र भैरहवाबीचको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो । यस्तै भैरहवाले ललितपुरसंगको खेल टाई हुँदा अंक बाँडेको थियो ।

लिगमा पाँचमध्ये ४ खेल जित्दै ८ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा कायम छ ।

साविक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स पनि लिग चरणबाटै बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो क्वालिफायरमा चितवन र पोखराबीच खेल हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९ : १५ बजे सुरु हुनेछ ।

यस खेलमा पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल्न पाउनेछ । बुधबारै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौं बीच खेल हुनेछ ।

यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । भैरहवा र काठमाडौंबीचको खेल दिउँसो १ :१५ बजे सुरु हुनेछ

Share Now

Leave a comment.