काठमाडौं, १७ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आगामी बर्ष कोरियामा काममा जाने नेपालीहरुको लागि भाषा परीक्षा २०७५ जेठ महिनाको अन्तिम साता गरिने भएको छ ।
ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनबाट परीक्षा आवेदन माग गरिने योजना रहेको बताए ।
कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामार्पmत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।
गत वर्षको भाषा परीक्षामा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपाली कामका लागि छनोट भैरहेका छन् ।
भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने छन् ।
कोरिया सरकारले विगत २ वर्षदेखि अन्य १५ राष्ट्रको तुलनामा नेपाली युवालाई नै आफ्नो देशमा रोजगारी प्रदान गर्न थप इच्छा देखाउँदै कोटा बढाउँदै लगेको छ ।
कोरिया सरकारले १६ राष्ट्रबाट विदेशी कामदार माग गर्ने भए पनि कम्बोडियापछि नेपालबाट धेरै कामदार लैजाने गरेको छ । कोरियाले प्राय एक बर्ष बढाउने र अर्को बर्ष कोटा घटाउने गर्दछ ।
नेपाली युवाको कार्यक्षमता, इमानदारिताकाकारण कोरियाले नेपालबाट बढी युवा माग गरेको हो । ईपिएस कार्यालयको कामदार पठाउने कार्यशैली छिटोछरितो पनि प्रभावकारी भएको कोरियाको मूल्यांकन छ ।
गत वर्ष आठौ कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवदेन दिएका ११ हजार ८ सय ६८ युवा अहिले रोजगारीका लागि कोरिया जाने रोष्टरमा रहेका छन् ।
ती मध्ये २ हजार ५ सय ३५ भन्दा बढी एक महिनामा श्रम सम्झौता गरी कोरिया जाने तयारीमा छन् ।
रोष्टरमा नेपाली कामदारको संख्या १ हजारभन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ ।
कोरियाले नेपाली कामदारको धेरै माग गर्ने गरेको भएपनि सन २०१५ देखि जान बाँकी रहेका करिब २ सय नेपालीको हालै रोजगार आवेदनको अवधि सकिएको छ ।