Prakash Adhikari October 30, 2021

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १३ कार्तिक ।यूएईमा जारी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको छ।

शनिवार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रिकाले दोस्रो जित हासिल गरेको हो। श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

दक्षिण अफ्रिकाको रोमाञ्चक जितमा डेविड मिलर नायक साबित भए। उनले आक्रामक ब्याटिङ गर्दै १३ बलमा २ छक्काको मद्दतमा अविजित २३ रन बनाए। अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको बेलमा मिलरले दुई उत्कृष्ट छक्का हिर्काउँदै दक्षिण अफ्रिका जित दिलाएका हुन्।

खेलमा कप्तान तेम्बा बाभुमाले ४६, एडेन मार्क्रमले १९, रसी भान डेर डुसेनले १६, कागिसो रबाडाले १३, क्विनटन डि ककले १२ र रिजा हेन्ड्रिक्सले ११ रनको योगदान दिए।
दक्षिण अफ्रिकालाई रोकने क्रममा श्रीलंकाका वानिन्दु हसरंगाले ३ तथा दुष्मन्थ चमिराले २ विकेट लिए।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। उसका लागि पथुम निसान्काले ७२ , चरित असालान्काले २१ र कप्तान दासुन शनाकाले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।

दक्षिण अफ्रिकाका् बलिङमा तबरेज शम्सी र ड्वेन प्रिटोरियसले ३ । ३ तथा एनरिक नोर्कियाले २ विकेट लिए। यस जितसँगै समूह १ मा रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा उक्लिएको छ।

उसले ३ खेलमा २ मा जित र एक म्याचमा हार बेहोरेको छ।

टी २० विश्वकप क्रिकेटको सुपर१२ मा श्रीलंकाको यो तेस्रो हार हो। श्रीलंका अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस समूहको शीर्षस्थानमा इंग्ल्याण्ड रहेको छ भने अष्टे्रलिया दोस्रो स्थानमा रहेको छ।

Share Now

Leave a comment.