Prakash Adhikari March 4, 2018

 

काठमाडौं, २०फागुन । निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले आइतबार छुट्छुटटै शपथ लिएका छन् ।

प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट शपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट शपथ लिएका हुन् ।

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण ग्रहण अपरान्ह चार बजेका लागि तय भएपनि केही ढिलामात्रै सुरु भएको थियो ।

बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धारित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहर भट्टराईले उपस्थित सांसदहरुलाई स्वागत गरेका थिए ।

महासचिव भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले पद तथा गोपनीयताको शपथ गराए । शपथ लिएपछि सांसदहरुले सांसदको प्रतीक चिन्ह लगाएका थिए ।

प्रतिनिधि सभाका सदस्यहरुले शपथ लिएको केहीबेरपछि राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराएकी थिइन् ।

ठाकुर र भट्टले दुवैले आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराइएको हो ।

प्रतिनधि सभामा कैलाली १ बाट विजयी राजपाका सांसद रेशम चौधरी भने शपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् ।

शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित भएनन ।

प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिन एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ लागेर संसदभवन बानेश्वर पुगेका थिए ।

Share Now

Leave a comment.