काठमाडौं,२० फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व लिन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंंहले उम्मेद्वारी दर्ता गराएका छन् ।
सभापति देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्ताव केन्द्रीय सदस्य बालकृष्ण खाँणले दर्ता गराएका थिए ।
देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् ।
उम्मेदवारी दर्ता गराउन केन्द्रीय सदस्य खाँण लगायतका नेताहरु संसदीय दलको कार्यालय पुगेका थिए ।
पार्टीलाई सभापति देउवाले सन्तुलित र व्यवस्थित ढंगले सञ्चालन गरी गति दिन नसकेको आरोप लगाउदै आएको संस्थापन विरोधी समूहका तर्फबाट संसदीय दलको नेतृत्वमा पूर्व पार्टी महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका छन् ।
सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा एमालेका शक्तिशाली मानिएका बामदेव गौतमलाई समेत निर्वाचनमा पराजित गरेर
आएका बर्दियाका सांसद सञ्जय गौतम रहेका छन् ।
पार्टीमा सर्वसम्मति भएमा संसदीय दलको नेतृत्व लिन अग्रसर देखिएका पार्टीका निर्वाचित महामन्त्री डा. शशांक कोइराला भने दुबै मनोनयन दर्तामा अनुपस्थित रहे ।
उम्मेदवारी दर्तापछि नेता सिंहले आफूले देशभरका कार्यकर्ताको भावनालाई प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएको बताए ।
उनले मुलुकको राजनीतिक मैदानमा पार्टीको उपस्थिति बलियो पार्न वर्तमान नेतृत्व असफल भएकोले संसदीय मोर्चा सम्हाल्न आफू अग्रसर भएको दावी प्रस्तुत गरे ।नेता सिंहले स्थानीय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको नतिजाबाट निराश भएका देशभरका कार्यकतामा देखिएको पार्टीभित्रको सुधारको चाहनालाई मुखरित गर्न आफ्नो उम्मेदवारी भएको बताए ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सोमबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने कार्यक्रम छ ।